काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगो लगाइदिएका छन्।
मंगलबार स्थानीय युवायुवतीको प्रेम सम्बन्धको विषयमा सुरु भएको विवादले उग्र रुप लिएको हो। दुई समूहको विवादकै क्रममा गाडीको ठकरबाट दुई जना घाइते भएका छन्।
निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार विजय धवल र वैजनाथ लोहनीलाई गाडीले किचेको हो। विजयको अवस्था गम्भीर छ। दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरुलाई गाडी ब्याक गरेर किचेको भन्दै केटा पक्षले अर्को पक्षको गोदाममा आगजनी गरेको हो। उनीहरुले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन्।
दुई समूहबिच मंगलबार ढुंगाहानाहान नियन्त्रणका लागि पुगेको इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरेका हुन्।
आगजनीमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको घिमिरेले बताए।