दाङ । दाङको घोराहीमा आगामी माघ २५ गते सङ्घीयताको विरुद्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने भएको छ ।
आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनको तयारीस्वरूप सो कार्यक्रम हुन थालेको हो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला समितिका अध्यक्ष गणेश आचार्यका अनुसार दाङ जिल्लाका पालिकास्तरको अन्तरक्रिया सम्पन्न भइसकेपछि जिल्ला समितिको आयोजनामा सो कार्यक्रम हुन थालेको हो ।
उहाँका अनुसार जिल्ला सदरमुकाम घोराहीस्थित पत्रकार महासङ्घको सभाहलमा कार्यक्रम आयोजना गरिएको छ ।
“सङ्घीयताबाट उत्पन्न सङ्कट र त्यसका विरुद्ध राजधानीकेन्द्रित आन्दोलनको प्र्रश्न” विषयक सो कार्यक्रममा उपस्थितिका लागि दाङस्थित सम्पूर्ण राजनीतिक पार्टी, नागरिक समाज, सङ्घसंस्थाका अगुवा, सञ्चारकर्मी र बौद्धिक अगुवालाई निमन्त्रण गरिएको उहाँले बताउनुभयो ।