गैँडाकोट (नवलपुर) । नवलपुरमा राष्ट्रिय जनमोर्चा गैँडाकोटले सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारी भेला सम्पन्न गरेको छ ।
२०८१ माघ २० गते आइतबार नारायणी वन कार्यालयको सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो गैँडाकोटका अध्यक्ष होमनाथ पराजुलीले र सञ्चालन सचिव खिलेश्वरी धितालले गर्नुभएको थियो ।

भेलामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राजमो केन्द्रीय सदस्य दीपक पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रेम सापकोटा, नेकपा (मसाल) नवलपरका प्रवक्ता चन्द्र सापकोटा, जातीय समता समाजकी केन्द्रीय सदस्य लक्ष्मी विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार गोविन्द अम्माई, राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतरा, राजमो नवलपरका सदस्य शिवलाल लामिछाने तथा अखिल नेपाल महिला सङ्घकी शारदा सापकोटाको आतिथ्य रहेको थियो ।
छविलाल सापकोटा स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रममा काठमाडौँकेन्द्रित आन्दोलनका लागि आर्थिक समिति, सहभागीको छनोट, मोटरसाइकिल वा सिठ्ठी जलुस तथा सङ्घीयतामृत्युको घोषणास्वरूप शङ्ख फुक्ने कार्यक्रम सम्पन्न पार्दै चैत २४–३० सम्मको आन्दोलनमा सहभागी हुने निर्णय गरेको जानकारी दिइएको छ ।