बांगो टिंगो ढुंगालाई कुँदे त्यही मुर्ती बन्छ।
कुँदेपछि मात्र ढुंगाले दुरुस्त हुने भएँ भन्छ।।
ढुंगा त्यसै फाले कसैलाई चोट लाग्ने थियो।
त्यो कुँदेको ढुंगा आज बल्ने दियो झैँ थियो।।
कहिले खोला अनि कहिले डोजर चले पनी।
कर्तब्य सम्झिएर अघि बढ्छ फेरि पनि।।
फूल मिच्दै फूलबारीमा कांडा बन्ने त हैन ।
माटो मात्र के गर्ने? पथ्थर पनि नभै भै’न।।
सुन्नै पर्छ समाजमा कस्ले चसक्क के भन्छ।
मैले यही बुझेकी छु पथ्थर कुँदे मूर्ती बन्छ ।।
जीवन त संघर्ष हो उतार चढ़ाव हून्छ ।
मैले बुझ्दैछु दुःखले झन् स्पात सरी हुन्छ।।
उदाएको सूर्य जस्तै सधैँ भरि चम्कीने छौँ।
न्यायको कठिन यात्रामा नै अघी लम्किने छौँ।।
अस्ताउने हैन जो उदाएरै यात्रा गर्नुछ।
दुष्ट अनेक मान्छे चिन्दै त अघी बढ्नुछ।।
अन्याय विरुद्धमा निडर भइ लड्नु पर्छ।
कुद्दाकुद्दै सवल भाको मुर्ती पो बन्नपर्छ।।
समाजमा गरीब दुःखीको यो आवाज बन्दै।
चोटै चोट खाएको चट्टान हुँ म स्पात वन्दै।।
जुना चालिसे, मालिका गाउँपालिका–६ अर्जै गुल्मी
(हाल–भारत चंडीगढ़)