केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले आठ प्रकारका विवाहमध्ये ‘स्टेज म्यारिज’ सबैभन्दा उत्तम भएको बताउनुभएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ निवासी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालका छोरा प्रभात खनाल र वाणगंगा–१ निवासी सविता भट्टराईबीच वाणगंगास्थित मायादेवी हलमा आयोजित प्रगतिशील विवाहलाई शुभकामना दिँदै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।
उहाँले भड्किलो र खर्चिलो विवाहका कारण समाजमा नकारात्मक असर पर्दै गइरहेको उल्लेख गर्दै प्रगतिशील विवाहको सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
‘समाजमा चल्ने आठ प्रकारको विवाह छन् । सबैभन्दा उत्तम विवाह यही ‘स्टेज म्यारिज’ हो’ महासचिव भट्टले भन्नुभयो, ‘यस्तो खालको विवाह राष्ट्रिय जनमोर्चाले मात्र गर्दछन् भन्ने होइन । वैदिक विवाह खर्चिलो, भड्किलो बन्दै गएको, विवाह गरी सकेपछि ऋण तिर्न विदेशतिर लाग्नु पर्ने अवस्थामा प्रगतिशील विवाहको अनुसरण सबैले गर्नुपर्छ ।’
उहाँले ठाकुर खनाल लामो समयदेखि समाज परिवर्तनमा लागेको बताउँदै छोराले बुबाको बाटोलाई पछ्याउनु सही दृष्टिकोणले काम गरेको बताउनुभयो । साथै, नवविवाहित जोडीलाई वैवाहिक जीवनको सफलताको शुभ कामना पनि दिनुभयो ।’

बेहुला बेहुलीले एक आपसमा टीका, माला लगाईदिएपछि साधारण तरिकाले विवाह सम्पन्न भएको थियो ।
नवविवाहित जोडीलाई अखिल नेपाल किसान संघका उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, नेकपा (मसाल) कपिलवस्तु प्रवक्ता माधव भाट क्षत्री, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कार्यालय सचिव भीमलाल न्यौपाने, अखिल नेपाल महिला संघ कपिलवस्तुकी सहसचिव रिता पाण्डेले सफल दाम्पत्य जीवनको शुभकामना दिनुभएको थियो ।
यस्तै, दुलहीको तर्फबाट साइँलो बुबा बुद्धराम भट्टराई, कान्छा बुबा मोहनी भट्टराई, होराइजन इङलिस बोडिङ्ग स्कूलका प्रिन्सिपल वासुदेव पौडेललगायतले पनि सफल दाम्पत्य जीवनको शुभ कामना व्यक्त गर्नु भएको थियो ।
दुलाहा र दुलही दुवैतर्फका आफन्तजनले टीका लगाएर वैवाहिक जीवनको शुभ कामना, आशीर्वाद दिनु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
दुलाहा प्रभात खनालका हजुरबुवा परेश्वर खनालको अध्यक्षता सम्पन्न वैवाहिक कार्यक्रमको सञ्चालन प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य सशी सापकोटा र स्वागत केशवराज खनालले गर्नु भएको थियो ।