काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाएका छन् ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएका कारण वर्तमान सरकार गठन भएको जिकिर गरे ।
उनले भने, ‘अस्ति तीन वर्ष पनि सरकार थियो। अबको तीन वर्षपनि सरकार जान्छ, के भयो र ? त्यस्तो होइन। अस्ति तीन वर्षको सरकारले मुलुकलाई रसातलमा पुर्यायो। ढुकुटी रित्यायो। तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतैपनि छैन। त्यस्तो बनायो।’
उनले केही अराजक तत्वहरूले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने दाबी गरे।
ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अनेकथरि तत्वहरू यो देशमा तमासा गरेजस्तो भयो । यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छर ? उफ्रिन्छ । मिडियाबाजी गर्छ, अनेक गर्छ। अर्कोतिरबाट अर्को निस्किन्छ। उ पनि त्यस्तै गर्छ। देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र ? मजाकको कुरा हो र ?’