काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको छ ।
आइतबार नै उनी सो रकम बुझाएर छुटेका छन्।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो। त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन्।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु। १ करोड नगद धरौट, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू।’
रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो। आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गएको बुधबार अदालतमा हाजिर भएका थिए। त्यसदिन बयान लिएर बिहीबारदेखि थुनछेक बहस सुरु गरिएको थियो।
यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्। रुपन्देहीको समेत जोड्दा २ करोड २५ लाख रुपैयाँ पुगेको छ।
चितवन र पर्सामा पनि उनका विरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर हुँदै छ।