काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी भएको छ । उच्च अदालत पाटनले उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ।
न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।
बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो।
अनेरास्ववियु पूर्वकेन्द्रीय अध्यक्ष महर एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासमा पर्छन्।
उनलाई केही समय कारबाही गरे पनि गत प्रदेश तथा प्रतिनिधि सभाको उपनिर्वाचनको मुखमा उनीमाथिको कारबाही फुकुवा गरी एमालेले पूर्ववत् जिम्मेवारीमा फर्काएको थियो।