काठमाडौँ । यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्मा कोलनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।
बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्मा कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख १८ हजार चार सय ४८ भएको उल्लेख गरी भुक्तान दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी रु कुल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ ।
सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजकी श्रीमती उर्मिला बस्नेतको खातामा रु दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रकम जम्मा गरेको पाइएको छ । त्यस्तै, रु छ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोज गर्दा रु २४ लाख ७२ हजार छ सय ३७ बराबरको रकमसमेत पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले रु नौ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दाबी गर्दै नगरप्रमुख बस्नेत, निजकी श्रीमती उर्मिला बस्नेत, पद्मा कोलनीका सञ्चालक कँडेल विरुद्ध पुस १४ गते आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजकी श्रीमती उर्मिला र पद्मा कोलनीका सञ्चालक कँडेल विरुद्ध रु १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दाबी गर्दै आइतबारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।