बेलबारी, मोरङ । कोशी प्रदेशलाई मूल कार्यथलो मानेर गत साल स्थापना गरिएको कण लघुकथा मञ्चले २०८१ पुस १२ गते शुक्रबारदेखि विद्यालय तहमा लघुकथा लेखनलाई प्रशिक्षणको रूपमा अघि बढाएको छ ।
“घुम्ती लघुकथा प्रशिक्षण” नाम दिइएको सो कार्यक्रम पहिलोपटक बेलबारी नगरपालिका वडा नं. १, मोरङस्थित सगरमाथा इङ्ग्लिस स्कुलबाट प्रारम्भ गरिएको हो ।
कार्यक्रममा मञ्चका अध्यक्ष दीप मङ्ग्रातीले लघुकथाको बारेमा, उपाध्यक्ष उमा सिँजापतीले लघुकथाको इतिहास र सदस्य विष्णु भण्डारीले लघुकथाको महत्त्वको बारेमा कक्षा ९, १०, ११ र १२ का एक सय विद्यार्थीलाई सैद्धान्तिक, प्राविधिक पाटोका बारेमा प्रशिक्षण दिएका थिए ।
‘लघुकथाको अर्थ छोटो कथा नै हो तर अहिलेको नयाँ परिभाषाअनुसार अलग पहिचान हुने गरी कुनै संवाद, वर्तमान घटना तथा परिवेशमा रहेर २५० शब्दमा नबढाई लेखिएको छोटो आख्यानलाई लघुकथा भनेर बुझ्नुपर्छ’ अध्यक्ष मङ्ग्रातीले भने– ‘लघुकथाका मुख्य अङ्गमा शीर्षक, उठान, पात्र, विषयवस्तु, विकास र समापन हुन्छ ।’

कार्यक्रमका सहभागी विद्यार्थीलाई एक हप्ताभित्र ‘शिक्षाको महत्त्व’, ‘चरित्र’, ‘छोरा र छोरीमा भेदभाव’, ‘अनुशासन’, ‘बाबा’ र ‘आमा’ छओटा शीर्षकमा लघुकथा लेखेर बुझाउने सिर्जनात्मक गृहकार्य दिइएको छ ।
कार्यक्रममा टिप्पणीकार युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त पौडेलले थोरै सरल र मौलिक रूपमा प्रशिक्षण हुँदा बढी प्रभावकारी हुने सुझावसहित साहित्य, कला भनेको सिर्जना भएको हुनाले लघुकथाको प्रशिक्षण विद्यार्थीलाई उपयोगी र नयाँ स्वादको भएको बताए ।
कार्यक्रमकी अतिथि बेलबारी प्रज्ञा–प्रतिष्ठान मोरङकी अध्यक्ष रेखा सुवेदीले मञ्चबाटै प्रकाशित संयुक्त लघुकथासङ्ग्रह ‘कण’ मा सङ्गृहीत उनको लघुकथा ‘पत्रु काया’ वाचन गरेकी थिइन् ।
कार्यक्रमपश्चात स्कुलका प्रिन्सिपल इरनकुमार राईले यस्ता सिर्जनात्मक तथा सिपमूलक प्रशिक्षण स्कुलमा गरिँदै आएको हुनाले विद्यार्थीले लाभ लिइरहेको बताए ।