काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक आफू नभएको दाबी गरेको छ ।
काठमाडौँ महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गर्दै एमाले केन्द्रीय कार्यालयले यस्तो जिकीर गरेको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न मानेन ।
जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ।
शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए। नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरेको उनले बताए।