काठमाडौँ । कतार नेपाली एकता समाजले भारतीय हस्तक्षेपको विरोध गरेको छ । भारतले कालापानी क्षेत्र अतिक्रमण गरेर मानसरोवरसम्म पुग्ने बाटो बनाएको सन्दर्भमा समाजको यस्तो धारणा सार्वजनिक भएको हो ।
का.वा. अध्यक्ष विष्णु थापा क्षेत्रीको हस्ताक्षरमा मे १३, २०२० का दिन जारी प्रेसवक्तव्य मार्फत् समाजले भारतको यस्तो हस्तक्षेपको विरुद्ध देशभक्त नेपालीहरूको आन्दोलन उठिरहेका बेला त्यसप्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ । भारतीय अतिक्रमणको विरोधमा गरिरहेका प्रदर्शनकारीलाई गिरफ्तार गरेर सरकारले भारतपरस्त चरित्र प्रदर्शन गरेको आरोप पनि कतार नेपाली एकता समाजले वक्तव्य मार्फत् लगाएको छ ।
अहिलेसम्म नेपालले लिम्पियाधुरा–लिपुलेकसम्मको भूमिसहितको नक्सा प्रकाशन गर्न नसकेकोमा आपत्ति प्रकट गर्दै समाजले सो समस्याको समाधान अब द्विपक्षीय तरिकाले सम्भव नभएकाले अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने धारणा पनि व्यक्ति गरेको छ । नेपालसँग रहेका आवश्यक प्रमाणको आधारमा नेपाल संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय अदालतमा जान पनि एकता समाजले सरकारलाई सुझाव दिएको छ ।

