अधिवक्ता काजीगाउँले श्रेष्ठ ##
आश्विन शुक्ल पक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्वलाई दशैँ भन्ने गरिन्छ । नवमी तिथिमा महिषासुर दैत्यमाथि दुर्गा देवीको विजयको संस्मरणमा शाक्त सम्प्रदायले विशेष रूपमा यो उत्सव मनाउँछन् । दशमीमा दुर्गाका प्रतिमा नदी तथा तलाउमा विसर्जन भएपछि दुर्गा उत्सव सकिन्छ । दशमीको दिन रामले रावणको बध गरेका हुँदा रामलीला मनाई दशमीकै दिन रावणको प्रतिरूपको दहन गरी यो पर्व समाप्त हुन्छ । पुराणमा आधारित आस्थाका कारण उत्तर भारतमा उक्त परम्परा चलिआएको हो ।
मराठा र मैसुरका लडाइँका कारण जीर्ण भएको चामुण्डा देवीको मन्दिर टिपु सुल्तानले मर्मत गराएका थिए । दशमीको दिन चामुण्डा देवीको सम्मानमा मैसुर नगरमा हुने प्रदर्शन उत्सव एसियाको ठुला उत्सवमध्ये एक मानिन्छ ।
प्रतिपदादेखि नवमीसम्मको समयलाई नवरात्र मानिन्छ । नवरात्रमा कुमारिका (दुई वर्षीया बालिका), त्रिमूर्ति (तीन वर्षीय बालिका), कल्याणी, रोहिनी, काली, चाण्डिका, शाम्भवी, दुर्गा र शुभद्रा गरी नौ कुमारीहरूको पूजा गर्नुपर्ने मान्यता छ । दुर्गाकवचका अनुसार शैलपुत्री, ब्रम्टचारिणी, चन्द्रघण्टा, कूष्माण्डा स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी दुर्गाको नौ रूपको पूजा हुने कुरा उल्लेख छ । म्लेच्छ, दस्यु, किन्नर, वर्व, शक एवम् अङ्ग वङ्ग, कनिङ देशका वासिन्दाहरू पनि दुर्गापूजा गर्छन् ।
नेपालमा मल्लकालभन्दा अगाडि उपत्यकामा ढुङ्गा थापना गरी राज्यप्रमुखको रूपमा अजिमा पुजिन्थ्यो । मल्लकालमा अजिमालाई ब्रह्मायणी, रुद्रायणी (महेश्वरी), वैष्णावी, वराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मीका नाम दिई तिनका मूर्तिहरू बनाई पूजा गर्ने प्रचलन आयो । किरात र ज्यापुले मान्ने अजुलाई मल्लकालमा भैरव बनाइयो । आजसम्म पनि ज्यापु, रन्जित र नायहरू पञ्चमीमा पचिमह आजुको पूजा गरी चाड मनाउँछन् ।
मल्लकालमा तलेजु भवानीलाई अष्टमीमा बलि दिई दशैँ मनाउने प्रचलन चल्यो । दरबारमा काम गर्ने कर्मचारी हिन्दु हुनुपर्ने थिति बसाली नेवार जातिमा हिन्दुको सङ्ख्या बढाउने काम भयो । म्वःनि (मोहनी) नेवारको चाड हो । म्वनितीय (कालो टीका) दशमीमा लगाउने प्रचलन छ । नेवारहरू मोहनी ९ दिन मात्र मनाउँथे, मल्लकालमा त्यो मोहनी दशैँ भयो र शाहकालमा बडादसैँ । नवरात्र तिथिमा जनजातिहरू पितृपूजा गर्ने चोखिने पितृलाई जाँडरक्सी, मासुरोटी चढाएर चाड मनाउँछन् । कोही कोही सराय नाच पनि नाच्दछन् ।
राणाशासन कालमा अड्डा बन्द गरिन्थे । कर्मचारीको थमौती र पजनी यही समयमा गरिन्थ्यो । नवरात्रमा रेजिमेन्टका मुख्यालयमा ठुलो सङ्ख्यामा राँगाहरू बलि चढाइन्थे । निसान पुजिन्थे । तरबारको आडमा आफ्नो अभ्युदय हुन्छ भन्ने विश्वास गर्थे । तरबारलाई दुर्गाको प्रतीक ठान्थे । बाजा बजाउने, बन्दुक पड्काउने र एकपछि अर्को बलि दिने क्रम चलिरहन्थ्यो । दशमीको दिन राजाले जम्दारदेखि माथिका पदाधिकारीलाई दर्शन दिन्ये । १ रुपियाँदेखि माथि सलामी राजालाई चढाउथे । टीका लगाई राजाले कर्मचारीको पद थामिदिन्थे । राणाकालमा नेवाहरूले ज्यासल र मन्दिरमा बलि दिने र राई, मगर, गुरुङ र थारूहरूले बलि दिएको रगतले घरको भिट्टामा पन्जा छाप लगाई दशैँ मनाएको सबुत दिनुपर्ने प्रचलन चलाए ।
किरात राजा जितादस्तीको समयमा कोशलका राजा विडडभले कपिलवस्तुमा हमला गरेको समयमा कपिलवस्तुका शाक्यहरू उपत्यका आइपुगेका थिए । सो समयमा उपत्यकामा माछा मार्ने र पशुपालन गर्ने वासिन्दाले शाक्य र कोलियसँग धान रोप्ने, चिउरा कुट्ने प्रविधि सिके । नयाँ धानको चिउरा परिवारका सदस्यहरू मिलेर खाए, रमाए । अष्टमीको दिन कूछिभ्वय खाएर नेवारहरू चाड मनाए । त्यो प्रचलन नेवारी समुदायमा अझै जीवित छ । शाक्यहरू आउनुअगाडि उपत्यकाका वासिन्दाले नेपाफै (भेँडा) बलि चढाउथे । त्यो चलन अझै जीवित छ ।
वर्षापछि नदीहरू सुक्दै जाने एक ठाउँबाट अर्को ठाउँमा जानआउन सकिने अवस्थामा शत्रुका आक्रमणबाट बच्न र दशमीको तिथि अत्यन्त शुभ भएकाले शत्रुमाथि आक्रमण गर्न तयारीका लागि पनि कोटघरका हतियारहरू अर्जाप्ने पूजा गर्ने प्रचलन बसेको हुनुपर्छ ।
नयाँ अन्न चढाउने खाने, धानका बालाको पुतली बनाई ढोकामाथि झुन्ड्याउने, गहुँ र जौको जमरा शिर, कानमा सिउरिने, चामलको अछताको टीका लगाउने प्रचलनले दशैँलाई कृषिउपज महोत्सवको रूपमा मानी आएको देखिन्छ । कृषिभूमि नै समृद्धिको प्रतीक मानिने समयमा कृषिउत्सव प्रचलनमा आउनु स्वाभाविकै हो । वर्षायाममा पशुवस्तुको चरन उपलब्ध हुने र हिउँद लाग्न थालेपछि पशुवस्तुको आहारा जुटाउन कठिन पर्ने हुँदा पशुवध गरी खाने अर्थसंस्कृतिको विकास हुँदा त्यसलाई बलिको जामा लगाइदिनु स्वाभाविक थियो ।
नयाँ लुगा, पिङ, लिपपोत, सरसफाइ, चिउरा, रोटी, मासु, कुराउनी, जमिन र पानीको शारदीय सौन्दर्यता, टाढा रोजगारमा गएका आफ्नो मानिसको आगमन, तीनपाने आदि र श्रमिक शिल्पी व्यापारी र पशुपालकको आम्दानीले दशैँ घमाइलो र रमाइलो बनाइरहेको हुन्छ । देखासिकी र अन्धविश्वासको भुमरीले रमाइलोलाई मलिनो बनाउन पनि सक्छ ।
सन्दर्भ सूची
काण्डे, डा. पाण्डुरङ वामन (……). धर्मशास्त्रका इतिहास–४. लखनऊ : उत्तर प्रदेश हिन्दी संस्थान ।
शाक्य, डा. केशवमान (……). नेवार जाति र दशैँ. आनन्दभूमि, वर्ष ३०, अङ्क–५. काठमाडौँ : आनन्दकुटी विहार गुठी स्वयम्भू ।
इन्द्रमाली, (……). नेपाल भाषा तँ. खँग्व धुकू. काठमाडौँ : ल्हामु अमात्य ।
Old Field, H.A. (1974 AD). Sketches from Nepal-II. Delhi: Cosmo Publications.