काठमाडौं । नेपाल पत्रकार महासंघको मूलगेटमा तालाबन्दी गरिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी हराएको भन्दै उनीहरूको फोटोसमेत टाँसिएको छ ।
पत्रकार महासंघले सदस्यता विवाद समाधान नगरी असोज १२ गते निर्वाचन तोकेपछि पत्रकारहरूले कार्यवाहक अध्यक्ष र महासचिव ‘हराएको सूचना’ जारी गरेका हुन् ।
यसअघि अध्यक्ष विपुल पोखरेलले असोज ५ गते निर्वाचनको घोषणा गरेका थिए । तर, सदस्यता विवादका कारण उनले राजीनामा दिए ।
कार्यवाहक अध्यक्ष बनेका विष्टले समेत सदस्यता विवाद यथावत् राखेर असोज १२ गते निर्वाचनको मिति तोकेपछि महासंघमा विवाद चुलिएको छ ।
यसैबीच ५३ वटा जिल्ला शाखा अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी जबर्जस्ती निर्वाचन नगर्न महासंघलाई चेतावनी दिएका छन् ।
५३ जिल्ला अध्यक्षको विज्ञप्तिसमेत महासंघको मूलगेटमा टाँसिएको छ ।
महासंघमा भएको विवाद र तालाबन्दीले आगामी असोज १२ गते गर्ने भनिएको निर्वाचन फेरि अन्योल बनेको छ ।