काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतप्रति पक्राउ प्रयास गरेकोमा निन्दा गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ भदौ २७ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले घटनाको निन्दा गरेको हो ।
प्रेसवक्तव्यमा एकातिर संविधानमा “पूर्ण प्रेस स्वतन्त्रता” लिपिबद्ध भएको तथा अर्कोतिर, समाचारसम्बन्धी उजुरी हेर्न प्रेस काउन्सिल जस्तो निकाय कायम रहेका बेला भएको यस्तो घटनाको विरोध गरेको छ ।
प्रेस स्वतन्त्रता विरोधी यस खालका घटना तत्काल रोक्न प्रगतिशीलले वक्तव्यमार्फत सरकार र प्रशासनसित माग गरेको छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
“प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचार लेखेको विषयमा प्रहरीको साइबर ब्युरोले आज २०८१ भदौ २७ गते बिहीबार राजधानीको हार्दिक होटलबाट पक्राउ गर्न खोजेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ ।
एकातिर, संविधानको प्रस्तावनामा नै “पूर्ण प्रेस स्वतन्त्रता” शब्दावली लिपिबद्ध भएको तथा अर्कोतर्फ, समाचारसम्बन्धी उजुरी हेर्नका लागि प्र्रेस काउन्सिल जस्तो निकाय यथावत् रहेको अवस्थामा अध्यक्ष बस्नेतमाथि पक्राउ प्रयास गरिनु निन्दनीय भएको स्पष्ट छ ।
पत्रकारिता पेसामा स्रोत गोप्य राख्न पाइने आधारभूत प्रावधान छ । यस्तो अवस्थामा कसैले समाचारप्रति चित्त नबुझेमा त्यसप्रति उजुरी गर्न बेग्लै अधिकारसम्पन्न निकाय हुने गर्दछ । नेपालमा पनि प्रेस काउन्सिले समाचारसम्बन्धी उजुरी हेर्दै आएको छ । यस्तो अवस्थामा प्रहरीको साइबर ब्युरोका सादा पोशाकमा रहेका प्रहरीले सार्वजनिक कार्यक्रम चलिरहेकै बेलामा पत्रकार बस्नेतलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ ।
हाम्रो सङ्गठन पत्रकार तथा प्रेस चौतारीका अध्यक्ष बस्नेत विरुद्ध पक्राउ प्रयासको निन्दा गर्दै यस्तो प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापलाई बन्द गर्न सरकार तथा प्रशासनसित गम्भीर माग गर्दछ ।”