रामदेव पाण्डे ##
ग्रन्थ लेखे पुरुषले नियम आफै बनाए
आफ्ना लागि सबै कुरा राम्रो बनाए
धर्मकर्म ब्रतपूजा जोगाइदेऊ नारीले
मक्ख पर गहना र रातो सारीले
उस जुनीको पाप भोग्न छोरी जन्मिएकी रे !
कन्यादानले दासी बनी अन्मिएकी रे !
लोग्ने भयो शिरको स्वामी सधैँ पुज्नुपर्ने रे !
चरणकी दासी नारी बुझ्नुपर्ने रे !
छोराछोरी दुवै सन्तान उस्तै आमाबाउका
छोरीलाई भन्ने किन दासी पाउका ?
रजस्वला नभएमा बाँठी भनी कराउने
रजस्वला हुँदा चाहिँ अछुत गराउने
छाउगोठ र अपमान सहने र खटाउने
वर्षदिनको पञ्चमीमा पाप कटाउने !
विज्ञानको युग भन्ने बुझ्ने नारी कहिले
नाच्नुअघि अधिकार खोज पहिले
यान आफै चलाएर अन्तरिक्ष गइसके
संसारका नारी हेर के के भइसके
कोही नारी चन्द्रमा र मङ्गलमा जाँदै छन्
कोही खुट्टा पखालेको पानी खाँदै छन्
पढी लेखी मात्र पनि क्यै नहुने रहेछ
सचेतना भन्ने कुरा ठुलो रहेछ
आजसम्म जे जे भयो जालमा अब फस्दैनौँ
राम्रो पति पाउन भनी व्रत बस्दैनौँ
पति राम्रो चाहिने तर पत्नी चाहिँ कस्तो त ?
संसारमा अन्त कहीँ छैन यस्तो त
पत्नी सुशील अनुशासित सेवा गर्ने चाहियो
पतिले चाहिँ मन लागेको गर्न पाइयो
धेरै बाँच्न रक्सी चुरोट नशा सेवन नगर्नू
भोकै व्रत गरिँदैन भर नपर्नू
कसैलाई मिल्दैन केही कोरा अन्धभक्तिले
चाहे सक्छ संसार फेर्न नारी शक्तिले
अन्धविश्वास कुरीतिको रक्षा अब नगरौँ
नारी कमजोर हुन्छन् भन्ने भ्रममा नपरौँ
पट्टी खोलौँ आँखाबाट नारी अब जागौँ है
बराबरी हक लिन सबै लागौँ है
अधिकार लिनलाई आफैँ अघि बढ्ने हो
अरू कोही लडिदिन्न आफैं लड्ने हो
२०८१ भदौ ९ गते