वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रोपटक विश्वासमत प्राप्त गरेका छन् ।
२०८१ साउन २१ गते सोमबार प्रदेशसभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिएपछि उनले विश्वासमत प्राप्त गरेका हुन् ।
कुल ४० सदस्यीय प्रदेशसभामा सोमबार ३७ सांसद उपस्थित थिए । त्यसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको छ ।
प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली काङ्ग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । त्यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । सोमबारको बैठकमा राप्रपा सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।
माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका एक जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलोपटक विश्वासको मत लिएका थिए । गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।
सङ्घमा काङ्ग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । सोहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने काङ्ग्रेस सहभागी भएको छ ।
मुख्यमन्त्री कँडेलले आइतबार मात्रै काङ्ग्रेसका चार जना मन्त्री नियुक्त गरेका थिए ।
एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।