काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले सांसद चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई २०८१ साउन ७ गते सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा (एमाले) ले प्रदेशसभा संसदीय दलका नेता लीला गिरीलाई बाइपास गर्दै उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएको हो ।
संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की भए पनि एमाले महासचिव शङ्कर पोखरेल निकट आचार्यलाई अन्तिम समयमा मुख्यमन्त्री बनाइएको हो ।
संसदीय दलका उपनेतासमेत रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन केन्द्रबाट निर्देशन गएको प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।
नेपाली काङ्ग्रेस र नेकपा (एमाले) का ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनले संविधानको धाराअनुसार नै आचार्यलाई नियुक्त गरेको जानकारी गराएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा बुझाएका थिए ।