• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

“छोराछोरीको भविष्यको बाधक नबनिदिनुस्”


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    जेठो छोरा सङ्गिनले कक्षा १२ को परीक्षा सिध्याएपछि स्नातक (ब्याचलर) लेभलमा कुन विषय पढ्ने ? यसबारेमा परामर्श गर्दै गर्दा जीवनमा पृथक् अनुभूति गरियो । यो लेख त्यसबारेको संस्मरणमूलक अनुभूतिमाथि आधारित छ ।

    छोराले कक्षा १० (एस.ई.ई.) पास गरी कक्षा ११ पढ्ने बेलामा पनि यस्तै परामर्श गरेको थिएँ । त्यति बेला साथीहरूले सुझाव दिनुभएको थियो– विज्ञान विषय नै पढाउनुपर्दछ । त्यसका पछाडि उहाँहरूको तर्क थियो– विज्ञान र गणितका विद्यार्थीले पढाइमा धेरै मिहिनेत गर्नुपर्दछ । त्यसका विपरीत मानविकी जस्तो हलुका विषय लिइयो भने विद्यार्थीमा मिहिनेत कम गरे पनि हुने धारणा कायम हुने छ । त्यसले गर्दा विद्यार्थीमा पढाइमा श्रमप्रतिको अरुचिपूर्ण धारणा कायम हुन सक्ने छ ।

    साथीहरूको त्यो सुझाव मलाई पनि मनासिब लाग्यो र प्लस टूमा छोरालाई विज्ञान र गणित विषय पढाइयो । जब कक्षा १२ को पढाइ सकियो, मेरासामु एकपटक फेरि त्यही यक्षप्रश्न उभियो– स्नातकमा कुन विषय पढाउने ? त्यसबारे निर्णय गर्न परामर्श लिँदै गर्दा कक्षा १० पछिको भन्दा बेग्लै अनुभूति भयो ।

    पछिल्लो समयमा विद्यार्थीको अध्ययनका लागि विदेश पलायन तीव्र गतिमा बढ्दै गइरहेको छ । यस्तो किन भयो ? त्यसबारेमा सम्भवतः “सिक्दै कमाउँदै” जस्तो सुविधा नहुनु एउटा कारण हुनुपर्दछ भन्ने मेरो सामान्य बुझाइ थियो । यस धारणामा म अहिले पनि कायम छु तर यस सम्बन्धमा अभिभावकको धारणा के कस्तो छ ? त्यसबारे मैलै खासै जानकारी पाएको थिइनँ । यसपटक भने यसको बारेमा थप जानकारी मिल्यो ।

    स्नातकमा कुन विषय पढ्ने ? यस विषयमा सल्लाह लिँदै गर्दा धेरैको सुझाव थियो– ‘यो चक्करमा नपर्नुस् । आयल्स (विदेशमा अध्ययन गर्न पढाइने पृथक् पाठ्यक्रम) कक्षा ज्वाइन गराइहाल्नुस् ।’

    खालि यस खालको मौखिक जवाफ मिलेको मात्रै होइन, पचासौँ यस्ता फोन आए, जसमा मसित सोधिएको हुन्थ्यो– ‘छोरालाई पढाउन विदेश पठाउने योजना त छैन ? पठाउने भए हामीकहाँ सहुलियत दरमा तयारी कक्षा चलिरहेको छ ।’ यस क्रममा विभिन्न सहुलियतका प्रस्ताव पनि गरिन्थ्यो ।

    यी प्रश्नको उत्तरमा मैले विनम्रतापूर्वक भन्दथेँ– ‘माफ गर्नुहोला, छोरालाई विदेश पढ्न पठाउने मेरो कुनै योजना छैन ।’ जवाफमा उनीहरू भन्दथे– ‘थ्याङ्क्यु !’

    तीन प्रतिनिधिमूलक सुझाव

    यी त भए फोनका कुरा । प्रत्यक्ष कुराकानीको सन्दर्भमा झनै रोचक प्रसङ्ग देखा परेका थिए । त्यसमध्ये तीनओटा प्रतिनिधिमूलक प्रसङ्ग यहाँ प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

    एक जना साथीले मलाई भने– ‘अहिले छोरालाई विदेश पढ्न पठाउनुभएन भने पछि छोराले तपाईंलाई धिक्कार्ने छ ।’

    उनको भनाइको आसय यही थियो, पछि छोराले धिक्कार्ने छ भनेर मैले आफू सर्वस्व भएर पनि छोरालाई विदेश पढ्न पठाउनुपर्दथ्यो यद्यपि यसमा उनको कुनै स्वार्थ थिएन बरु उनको यो मैत्रीपूर्ण वा नजिकको साथी ठानेर दिइएको सल्लाह थियो ।

    अर्का एक जना साथीले भने– ‘नेपालको अवस्था यस्तै छ । यहाँको अवस्थामा तत्काल सुधार हुनेवाला छैन । मैले त आफ्नो सन्तानलाई फिनल्यान्ड पढ्न पठाउने हो । फिनल्यान्ड एसियाकै उत्कृष्ट शिक्षाको गन्तव्यस्थल हो । चानेचुने पन्ध्र–बिस लाख खर्च लाग्ला । जायजेथा बेचेर भए पनि त्यतै पठाउने हो बरु तपाईंले पनि त्यसै गर्नुस् ।’

    उनको थप सुझाव थियो– ‘विदेश पढ्न पठाउने भनेपछि ऋण पनि सजिलै पाइन्छ । पछि छोराछोरीले कमाएर तिर्छन् ।’ उनले पनि नजिकको साथी ठानेर मलाई यो मैत्रीपूर्ण सल्लाह दिएका थिए ।

    तेस्रो मित्रले प्रष्ट शब्दमा भने– ‘तपाईं छोराछोरीको भविष्यको बाधक नबनिदिनुस् । तपाईंले दुःख पाउनुभयो भनेर छोराछोरीले पनि दुःख पाउनुपर्छ भन्ने छैन । हामीले छोराछोरीको उज्ज्वल भविष्यको कामना गर्नुपर्दछ । तपाईंले छोरालाई विदेश पढ्न पठाउनुस् । छोराको भविष्य उतै राम्रो हुने छ । हामीले जे दुःख पायौँ पायौँ, छोराछोरीले त्यस्तो दुःख नपाउन् । हामीले आफ्नो विगत हेर्ने होइन, छोराछोरीको सुखद् भविष्य हेर्नुपर्दछ ।’

    उनले पनि अत्यन्त सङ्क्षिप्त तर स्पष्ट शब्दमा आफ्नै साथी ठानेर मलाई यो सुझाव दिएका थिए ।

    मलाई यी सुझाव दिने तीनै जना वामपन्थी विचार अपनाएका मित्रहरू थिए । त्यसमध्ये एक जना कुनै वामपन्थी पार्टीको पोलिटब्युरो सदस्यसमेत रहिसकेका थिए । एक जना कुनै जिल्ला पार्टीको सेक्रेटरी बनिसकेका व्यक्ति थिए । यी तीन जनामध्ये एकले आफूलाई कम्युनिस्ट पार्टीको होलटाइमर (पूर्णकालीन) कार्यकर्ता पनि बताउने गर्दथे । बाँकी दुई जना भने अहिले सक्रिय राजनीति छाडेर पेसाव्यवसाय गरिरहेका थिए तर उनीहरूको कुनै वामपन्थी राजनीतिक पार्टीप्रति सम्बद्धता अवश्य थियो ।

    अभिभावक फ्याक्टर

    यहाँ विद्यार्थीको विदेश पलायनसित सम्बन्धित जुन तीन प्रसङ्ग उल्लेख गरिएको छ, यसबाट एउटा सामान्य जानकारी यो मिल्दछ– विद्यार्थीहरू स्वयम् आफ्नो मात्रै निर्णयले अध्ययनका लागि विदेश गइरहेका छैनन्, त्यसका पछाडि उनका अभिभावकको निर्णयले पनि ठोस रूपले काम गरिरहेको छ । यस सन्दर्भमा खालि विद्यार्थीलाई दोष लगाउनु गलत हुने छ । यसो गर्नु विषयवस्तुको एउटा पक्षको मात्रै जानकारी राख्नुहुने छ ।

    यस सन्दर्भमा मलाई कैयौँ अभिभावकको यो भनाइ स्मरण भइरहेको छ, उनीहरू प्रायशः भन्ने गरिरहेका हुन्छन् : ‘के गर्ने ? छोराछोरीले भनेकै मान्दैनन् । आफ्ना साथीहरूको लहैलहैमा लागेर विदेश पढ्न जान्छु भन्छन् । छोराछोरीले भनेपछि बाबुआमाले मान्नैपर्दछ क्यारे !’

    मैले व्यहोरेका उपर्युक्त तीनओटा प्रसङ्गले भने अर्कै तस्बिर अगाडि ल्याउँछ अर्थात् खालि छोराछोरीको इच्छा मात्रै नेपाली विद्यार्थीको अध्ययनका लागि विदेश पलायन जिम्मेवार छैन, त्यसका पछाडि अर्को जिम्मेवार पाटो अभिभावकको दृष्टिकोण पनि हो । यसबाट पुष्टि हुन्छ– नेपाली विद्यार्थीको अध्ययनका लागि विदेश पलायनका लागि विद्यार्थीभन्दा उनीहरूका अभिभावक झन् बढी जिम्मेवार छन् ।

    यस सन्दर्भमा धेरै विषयमा नगएर खालि दुईओटा विषयमा सङ्क्षिप्तमा चर्चा गरौँ । ती दुई विषयहरू हुन् : प्रथम– गुणस्तरीय वा उत्कृष्ट शिक्षाको चरित्र; द्वितीय– देशभक्तिको प्रश्न ।

    गुणस्तरीय वा उत्कृष्ट शिक्षा

    प्रथम विषयमा हामीले यो सामान्य धारणा कायम गर्न सक्दछौँ : संसारमा गुणस्तरीय वा उत्कृष्ट शिक्षा वा त्यो कुनै अमुक देशमा उपलब्ध छ भनेर निरपेक्ष रूपमा किटानी गर्न सकिने विषय होइन ।

    आम रूपमा थाहा भएको विषय हो, हाम्रो जस्तो अर्थव्यवस्था भएको देशमा उच्च शिक्षा र रोजगारी सँगसँगै अगाडि बढ्छन् किनकि स्नातक वा त्यसभन्दा माथिल्लो तहमा अध्ययन गर्दै गर्दा विद्यार्थी विवाहित अवस्थामा पुगिसकेका हुन्छन् । अब उनीहरूले आफ्नो परिवारका साथै बाबुआमाको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने हुन्छ । या त उनीहरूसँग पैत्रिक सम्पत्ति अझै पनि बाँकी हुनुपर्‍यो अन्यथा विद्यार्थी आफैले आयआर्जन गर्नुपर्ने हुन्छ । यदि नेपालका विद्यार्थीका लागि अध्ययनसँगै रोजगारी—उदाहरणका लागि “सिक्दै कमाउँदै”—योजना लागु गर्न सक्ने हो भने विदेश पलायन स्वाभाविक रूपमा कमजोर हुने थियो ।

    वास्तवमा हाम्रो देशका लागि गुणस्तरीय वा उत्कृष्ट शिक्षाको सम्बन्ध प्रत्यक्ष रूपमा नै रोजगारीसँग छ । नेपालका विद्यार्थीहरू अध्ययनका लागि विदेश जानुको कारण उत्कृष्ट शिक्षा अमुक देशमा उपलब्ध छ भनेर होइन, प्रथम– त्यहाँ अध्ययन गर्दै गर्दा कमाउने अवसर मिल्दछ भनेर हो; द्वितीय– पढिसकेपछि नेपालमा वा विदेशमा जागिर मिल्ने ग्यारेन्टी हुन्छ भनेर हो । के यो तथ्य स्पष्ट छैन र ?
    यसरी रोजगारीको विषय सँगै जोडिँदा नेपाली विद्यार्थीको विदेश पलायनमा मजदुर वा श्रमिकवर्गीय चरित्र सँगै जोडिन्छ भने उत्कृष्ट शिक्षाको पाटो पृष्ठभूमिमा पुग्दछ । विद्यार्थीहरू विदेश अध्ययन गर्न जानुका पछाडि सही दर्शन, विचार, नैतिकता, साहित्य, कला, सङ्गीत, वैज्ञानिक आविष्कार जस्ता राष्ट्रनिर्माणका लागि आश्ययक दृष्टिकोण, विचार, ज्ञान, सिप आर्जन गर्नु हुँदैन, उनीहरूको मुख्य चासोको विषय रोजगारी हुन पुग्दछ । त्यसैले नेपाली विद्यार्थीको अध्ययनका लागि विदेश पलायनको सन्दर्भमा उत्कृष्ट शिक्षा खालि आवरण मात्रै हो, सारतत्त्वको विषय रोजगारी नै हो भन्ने प्रष्ट हुन्छ ।

    यहाँनेर एउटा तथ्य प्रष्ट पार्नुपर्ने आवश्यकता छ । नेपालमा अध्यापन नहुने विषयमा—खासगरी उच्च शिक्षाको हकमा—विदेश अध्ययन गर्न जाने विद्यार्थीहरू पनि थुप्रै छन् । त्यसमध्ये कैयौँ विद्यार्थी अध्ययन सकेर नेपाल फर्किएका पनि छन् । त्यस्तै, कैयौँ विद्यार्थी अध्ययनपछि केही समय विदेशमै जागिर गरेर फेरि नेपाल फर्किएका छन् तर यस्तो अत्यन्तै सङ्ख्या कम छ ।

    देशभक्तिपूर्ण भावनामा स्खलन

    अर्को विषय देशभक्तिको हो । यस्तो देशभक्तिको विषय विद्यार्थीसित होइन, अभिभावकसित सम्बन्धित छ किनकि विद्यार्थीलाई देशभक्तिको भावनाद्वारा ओतप्रोत बनाउनै बाँकी छ ।

    यस लेखमा जुन तीन प्रसङ्गका फरक फरक अभिभावकको उदाहरण दिइएको छ, ती सबै वामपन्थी विचारधारा अपनाएका व्यक्ति हुन् । वामपन्थीहरू दावी गर्दछन्, नेपालमा देशभक्त जनताको प्रतिनिधित्व वामपन्थी वा कम्युनिस्ट पार्टीले नै गर्दछन् । यो दावीमा सत्यता पनि छ ।

    हामीले इतिहासमा देखेका छौँ, वामपन्थी वा कम्युनिस्ट शक्तिहरूको खबरदारी नहुँदा देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता धरापमा पर्न थाल्दछ । २००७ सालपछि गैरवामपन्थी सरकारले भारतसित “विशेष सम्बन्ध” कायम गरेको थियो । त्यति बेला तत्कालीन राजा त्रिभुवनका निजी सचिव भारतले नियुक्त गर्दथ्यो भने नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय राजदूत बस्दथे । त्यति बेलादेखि जब नेपाली वामपन्थी शक्तिहरूको सक्रियता बढ्यो, त्यससँगै “विशेष सम्बन्ध” को समाप्त भयो । त्यस्तै, राजाको शासनकाल रहेकै बेला कालापानीमा भारतीय सैनिक बसेको थियो, जो अद्यापि कायम छ । यद्यपि सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा कमजोरी नभएका होइनन् ।

    २०४६ सालपछि तिनै वामपन्थी पार्टीहरू सत्तामा पुगे । २०५२ सालदेखि राज्यसत्तामा आमूल परिवर्तन गर्ने दावी गर्दै दश वर्षे सशस्त्र युद्ध लडेको माओवादी पनि पटक पटक सत्तामा पुग्यो । यस क्रममा पुष्टि भयो– सत्तामा पुगेका वामपन्थीहरूले आवरणमा मात्रै कम्युनिस्ट विचारधारा अपनाएका थिए तर उनीहरूसँग सिर्जनात्मकता थिएन, साथै वस्तुगत परिस्थितिको यथार्थ विश्लेषण गरेर मार्क्सवाद–लेनिनवाद लागु गर्ने क्षमता थिएन ।

    राज्यक्रान्तिमार्फत होइन, प्रतिक्रियावादीसँग सम्झौता गरेर वा फोहोरी चुनावी खेल खेलेर सत्तामा पुगेकाले उनीहरूको चरित्रमा क्रमशः स्खलन हुन पुग्यो । वामपन्थी चरित्रमा ह्राससँगै उनीहरूको देशभक्तिपूर्ण चरित्रमा समेत ह्रास आउन थाल्यो । उनीहरूको अवस्था दत्यकथाको त्यो गाईको जस्तो बन्न पुग्यो, जसमा मालिकलाई झुक्याउनका लागि कमेरो पोतेर कालो गाईलाई सेतो बनाइएको थियो । यथार्थमा गाई कालो नै थियो । जब वर्षा हुन सुरु भयो, वर्षाको पानीले गाई यथास्वरूपमा आइपुग्यो । अहिले झापा युद्ध लडेको भनिएका, २०५२ सालदेखि दश वर्षे युद्ध लडेको भनिएका वामपन्थीहरूको अवस्था पनि यस्तै हुन पुगेको छ ।

    यसको अर्थ ती वामपन्थी पार्टीका सम्पूर्ण कार्यकर्ताको चरित्र त्यही प्रकारको छ भन्ने अवश्य पनि होइन, उपल्लो समितिका सानो तप्का तथा तल्लो समितिमा सङ्गठित वा त्यसका सामान्य समर्थकमा त्यस्तो चरित्र छैन ।

    वामपन्थी पृष्ठभूमि रही सत्ताको वरिपरि घुम्ने नेताकार्यकर्ताको चरित्र कति भ्रष्ट छ ? त्यसको उदाहरण हालै चर्चामा रहेका नक्कली भुटानी शरणार्थी प्रकरण, सुनतस्करी, ललितानिवास जग्गा प्रकरण, सहकारी ठगीलगायत मामिलाले पुष्टि गरिसकेको छ । यहाँ जुन तीन प्रकारका अभिभावकको उदाहरण दिइयो, उनीहरूमा माथि उल्लेखित चरित्र स्खलन प्रवृत्तिको असर परेको छैन भनेर दावी गर्न सकिन्न ।

    विदेश पलायन भएका विद्यार्थी र युवा

    विदेश पलायन हुनेमध्ये ठुलो सङ्ख्या श्रमजीवी युवाको छ तर उनीहरूमा देशभक्ति चरित्र विद्यमान छ । उनीहरूले पठाएको रेमिट्यान्सले प्रथम– गरिबी न्यूनीकरणमा प्रत्यक्ष रूपमा नै पुग्ने गरेको छ; द्वितीय– समग्र पराधीन अर्थतन्त्रलाई भरथेग गर्न रेमिट्यान्सबाट मदत पुगेको छ र तृतीय– विदेशी मुद्रासञ्चितिमा रेमिट्यान्सले योगदान दिएको छ ।

    यसको तुलना विदेश पलायन भइरहेका विद्यार्थीसँग गरौँ । यहाँ देशभक्तिकै सन्दर्भमा समस्या देखा पर्दछ । विदेश पढ्न गएका विद्यार्थीहरूमा स्वदेश फर्कने वा स्वदेशमा रेमिट्यान्स पठाउनेभन्दा पनि नेपालमा बाँकी रहेको पैत्रिक जायजेथा विक्री गरेर उतै लैजाने तरिका दिनप्रतिदिन बढिरहेको छ । यसबाट नेपालको जनशक्ति विदेश पलायन त भएकै छ, यससँगै नेपालको धनसम्पत्ति पनि बाहिरिरहेको छ, जसरी औपनिवेशिक युगमा साम्राज्यवादी मातृदेशमा उपनिवेशबाट धनसम्पत्ति स्थानान्तरण हुन्थ्यो । यस अर्थमा यहाँ नेपालको नवऔपनिवेशिक चरित्रसमेत देखा पर्दछ ।

    अभिभावक वा विद्यार्थीहरू कथित सुखी जीवनको नाममा विदेश पलायन भइरहँदा देश नै पराधीन बन्ने नवऔपनिवेशिक चरित्र देखा परेको छ । यस्तो चरित्रप्रति देशको शासक वर्गले बेवास्तापूर्ण रवैया अपनाइरहेको छ । खासगरी शासक वर्ग र सत्तारूढ राजनीतिक पार्टीहरूको पराधीन चिन्तन र भ्रष्ट चरित्रका कारण यस्तो भइरहेको छ । यस खालको प्रवृत्तिप्रति वामपन्थी पार्टीहरू सचेतना देखा पर्नुपर्दथ्यो तर विडम्बना झ् त्यस्तो भइरहेको छैन ।

    आज विद्यार्थीको विदेश पलायनको सवालमा वामपन्थी पृष्ठभूमि भएका जनतामा पनि यस खालको कमजोरी देखा पर्नु चिन्ताको विषय हो । यदि शासक वर्गको पराधीन चिन्तन तथा भ्रष्ट चरित्र कायम रहिरहने हो भने नेपाल नामको देश विश्व मानचित्रमा कहिलेसम्म कायम रहला ?

    २०८१ साउन ६ गते आइतबार
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.