सागर बेल्बासे ##
रास्वपालाई हेरेर यति भन्न सकिन्छ कि देश बिगार्ने भनेको पढेकै मान्छेले हो† नपढेको र नजानेको मान्छेको यो देश बिग्रनुमा कुनै दोष छैन ।
एउटा अन्तर्वार्तामा मुकुल ढकालले रवि लामिछानेले आफू प्रधानमन्त्री बन्नका लागि भारतसँग बार्गेनिङ गर्न अनुरोध गरेको र स्वर्णिम वाग्लेले नेपाललाई भारतको एउटा संरक्षित राज्य बनाउने आधारमा भारत तयार हुन सक्ने सम्मको कुरा गरेको खुलाएका छन् । यो चानचुने कुरा होइन, देश सक्ने र निल्ने कुरा हो ।
त्यति मात्रै होइन, उनले आर्थिक चलखेलको आरोप लगाए । मुकुलले लगाएको आरोपलाई उनको कुण्ठा मात्रै मानेर उम्कन पनि पाइयो तर उनले उठाएका कुरा काफी हदसम्म सत्य हुन् भन्ने यथेष्ट आधार छन् :
१. रास्वपाबाट बनेका प्रायः मन्त्री, सांसद टन्नै धनसम्पत्ति भएका मात्र छन् । यसको अर्थ पैसा नभएकालाई उनको पार्टीमा कुनै स्थान छैन ।
२. ढाकाकुमारले मन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई करोडौँ बुझाउनुपर्ने अडियो बाहिर आएको थियो यद्यपि कोर टिममा कोको छन् ? न त मुकुलले त्यसको बारेमा बोले, न ढाकाकुमारले नै नाम खुलाए ।
३. अघिल्लोपटक रवि लामिछाने गृहमन्त्री बनेका बेलामा राष्ट्रिय परिचयपत्रमार्फत् नेपालीको व्यक्तिगत डाटा विदेशीलाई उपलब्ध गर्न सहज भएको तथ्य बाहिरिएको थियो ।
४. रवि लामिछानेले सरकारमा उपस्थित हुने शर्त केवल गृहमन्त्री–गृहमन्त्रीको मात्रै शर्त थियो । प्रधानमन्त्री पाउने हैसियत थिएन, अरूमा उनको इन्ट्रेस्टको कुरा थिएन ।
५. प्रहरीको सरुवा, दुई दिनको एआइजी जागिर आदिमा खेलेकाबारे उनीमाथि गम्भीर प्रश्न उठेको थियो तर उनले कुनै जवाफ दिन सकेका छैनन् ।
६. राहदानी दुरुपयोग र सरकारी कागजातको कीर्ते प्रकरणमा उनी सहजै जेलमा जानुपर्ने मान्छे हुन् तर माओवादी र एमालेले २१ थान सांसद र त्यसको स्वार्थमा सत्ताको रक्षाका लागि बार्गेनिङ गरेर रविमाथि मुद्दा चलाएनन् ।
७. सहकारी प्रकरणमा रवि लामिछाने र उनको टिमका कैयौँ सदस्य जेल जाने ठुलै सम्भावना छ । रविले छानबिनको आवश्यकता नभएको बताए पनि रविमाथि सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने कुरा अदालतले बोलेको छ ।
८. जनताको भावनालाई बटुलेर सत्तामा पुग्नलाई उनी जे पनि बोलेका थिए । चितवनमा निलो बस, निर्मला हत्याकाण्डको दोषी, ड्याङकाड्याङ फाइल खोल्ने कुरो, १०० दिनमा सत्ताबाट उथलपुथल, जी.बी. राईको बारेमा टिभीमा, प्रतिपक्षमा र सत्तामा उनको बोली र विदेशबाट नेपाली फर्काउने उनको अति आत्मविश्वास—यी सबै उनी कुनै आधार, योजना र कार्यक्रमबिनै बोलेका थिए । उनी कति गर्न सक्छन् भन्ने कुरा अहिलेको सरकारको बिपत् व्यवस्थापनको पूर्वतयारी देखेरै छर्लङ्ग भएको छ ।
मुकुलको पनि पछिल्ला व्यवहार अत्यन्तै अपरिपक्व खाले देखिएको छ । मुखमा कालो टेप लगाउनुपर्ने आवश्यकता थियो जस्तो लाग्दैन । टीकाराम यात्रीसँको अन्तर्वार्तामा उनले बोलेको कुराको यथेष्ट प्रमाण आफूसँग नभएकाले पनि होला, उनी त्यति आत्मविश्वासमा देखिन्नन् । समग्र रास्वपाको राजनैतिक नीति तथा कार्यक्रम स्पष्ट नहुनाले पनि मुकुल राजनीतिक कुरामा हडबडाएका छन् । कति सत्य बोले र कति कुरालाई अतिरञ्जना बनाए भन्ने कुरा इतिहासले खोतल्दै जाने छ ।
रास्वपाले एउटा कुरा बेलैमा पुष्टि गरेको छ । रास्वपाको नीति थियो– “जान्नेलाई छान्ने” । त्यहाँ सबै मान्छे शिक्षित छन्, पढेलेखेका छन् ।
राजनीतिमा पढेलेखेका हुनु नै सबै होइन भन्ने कुरा पुनः पुष्टि भएको छ । पढेलेखेका र टाठाबाठाले कसरी शक्तिआर्जन गर्ने, कसरी लुट्ने र ठग्ने भन्ने कुरा पनि राम्रैसँग जानेका हुन्छन् । कतिसम्म भने समानुपातिक सांसदको टुङ्गो लगाउन विद्युतीय मतसङ्ख्यालाई सम्म डाइभर्ट गरेको कुरा खुलेको छ । मुकुल आफूले पनि गरेको कुरा स्वीकारेका छन् ।
सोझा नेपाली जनताका कारणले यो देश बिग्रेको होइन । बिहानबेलुका गिट्टी फोरेर जिन्दगी चलाउने तर १ कक्षा पनि पढ्न नपाएको कालिकोटको ठुलेले यो देश बिगारेको होइन । बिचरा उसलाई बन्दकोठामा ठुला ठुला योजना बनाएर कसरी शक्तिआर्जन गर्ने भन्ने षड्यन्त्र बनाउन कहाँ फुर्सद ?
रास्वपाले एउटा अर्को कुरा पनि पुष्टि गरेको छ, जसलाई नेपाली जनताले ख्याल गर्नुपर्छ र सचेत हुनुपर्छ । त्यो हो– राजनीतिक पार्टी हुनका लागि निश्चित राजनीतिक कार्यक्रम, उद्देश्य, दर्शन, सिद्धान्त र सङ्गठनात्मक संरचना आवश्यक पर्छ भन्ने कुरा । केवल भावना, लहड र भिडले राजनीति गर्न सकिन्न भन्ने कुरा स्पष्ट भएको छ ।
अन्त्यमा, रास्वपाको मात्रै यति धेरै आलोचना किन ? किनकि एमाले, काङ्ग्रेस र माओवादीलाई जनताले भ्रष्ट छन् भनेर राम्रोसँग चिनेका छन् तर रास्वपामाथि जनताको भ्रम थियो र भ्रमले ठुलो दुर्घटना ल्याउन सक्ने भएकाले भ्रम चिर्न आवश्यक छ ।