काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले आव २०८१/८२ को बजेट आर्थिक अनुशासनमा नआएको धारणा व्यक्त गर्नुभएको छ ।
२०८१ असार १६ गते आइतबार विनियोजन बजेटमाथि धारणा राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
सङ्घीयताको सबलीकरण चाहने पार्टीले नै मन्त्रालयगत र क्षेत्रगत हिसाबले बजेट विकेन्द्रीकरण गर्न नसकेको उहाँको भनाइ थियो ।
‘बजेटमा पुँजीगत खर्च कम छ । कनिका छरे झैँ बजेट छरिएको छ, एकदेखि पाँच लाखसम्म’ उहाँले भन्नुभयो– ‘यसरी न यो बजेटले आर्थिक अनुशासन कायम गर्न सकेको छ, न त सङ्घीयताको मर्मलाई आत्मसात गर्न नै ।’
उहाँले भूमिव्यवस्था, गरिबी निवारण र सहकारीसित सम्बन्धित मन्त्रालयमा ठुलो सङ्ख्यामा पुँजीगत र प्रशासनिक खर्च हुने स्मरण गर्दै त्यसबापत् अत्यन्तै कम भएको उहाँले टिप्पणी गर्नुभयो ।
मन्तव्यको क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा बजेट कम हुँदा वृद्धाश्रम स्थापना, त्यसको परिचालन, पारिवारिक मिलन केन्द्र, यातायातमा वृद्धवृद्धालाई छुट, महिला हिंसासित सम्बन्धित क्षतिपूर्ति जस्ता क्षेत्र प्रभावित भएको बताउनुभयो ।
उहाँले यौनिक अल्पसङ्ख्यक, मधेसमा महिला तथा छोरीहरूको सुरक्षा तथा समृद्धिको विषयमा पनि बजेटले ध्यान दिन नसकेको बताउनुभयो ।
त्यस्तै, उहाँले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका काम पनि बजेट अभावका कारण प्रभावित भएको बताउनुभयो ।