काठमाडौं । स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी घर भइ हाल काठमाडौं ब्रम्हटोल बस्ने वर्ष ३८ को निरन्जन कुमार रहेका छन् ।
काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजमा छापा मारी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक इन्टरप्राइजेजमा गैरकानुनी रुपमा अर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोलीले उक्त इन्टरप्राइजेजमा खानतलासी लिएको थियो।
त्यसक्रममा निजको अफिस कोठाबाट स्रोतत नखुलेको २० लाख ४० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले प्रतिबन्धित क्रिप्टोकरेन्सी मार्फत अन्दाजी ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबारदेखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका निरन्जन कुमारमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।