भीष्म जोशी ##
चीन अवसाद, अवनति र दुर्दशामा चुर्लुम्म डुबिरहेको थियो । सन् १८४० मा बेलायतले अफिम युद्ध थोपरेदेखि माओत्सेतुङको उदयसम्म चीन अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट गुज्रिरहेको थियो । साम्राज्यवादी मुलुकहरूले चीनको भौतिक मात्र नभई आध्यात्मिक सम्पत्ति पनि ध्वस्त पारेका थिए ।
यो चीनको तीव्र विनाशको समय थियो । पश्चिमा औपनिवेशिक देशहरूले चीनमा बन्दुकको नालबाट शासन गरिरहेका थिए । असमान सन्धि थोपरिएका थिए । गरिब, असहाय र महिलामाथि चरम दमन र अत्याचार भइरहेको थियो । महिलालाई बलात्कार गर्ने, ज्युँदै जलाउने र मार्ने जस्ता नृशंस कार्य भइरहेका थिए । यसको प्रतिक्रियास्वरूप चीनमा ठुल्ठुला किसान विद्रोह, आन्दोलन र विद्रोह भइरहेका थिए । यसै अवधिमा डाक्टर सनयात सेनको नेतृत्वमा समेत राजनैतिक विद्रोह भइरहेको थियो ।
यस्तो समयमा माओत्सेतुङको जन्म विद्रोहको केन्द्रभन्दा सुदूरको हुनान प्रान्तको साओसान गाउँमा डिसेम्बेर २६, १८९३ का दिन भएको थियो । देशमा विद्रोहको राको दन्किरहेका बेला बाल्यकालका माओ यसबाट अछुत रहने कुरै थिएन । उनको बाल्यकाल कडा मिहेनेती बुबाको कठोर अनुशासनमा बितेको थियो ।
माओका बुबा माओजेन सेन धेरै मिहिनेती र परिश्रमी थिए । उनले आफ्ना बुबाले (माओका हजुरबुबा) गरिबीका कारण गुमाएको जग्गा जमिन पुनः किनेका थिए । एउटा बस्ने घर बनाएका थिए । उनका बुबाले मिहिनेत गरेर धनसम्पत्ति जोडी सम्पन जीवन बाच्नुपर्दछ भन्ने मान्यता राख्दथे । त्यसैले उनी माओलाई पनि कठिन परिश्रम गर्न उत्प्रेरित गर्ने गर्दथे ।
माओको बाल्यकाल गरिबी र अभावमै बित्यो । १६ वर्षे बाल्यकाल अभावमै थियो भन्ने कुराको उदाहरण उनी महिनामा केवल एकपटक मात्रै कुखुराको अन्डा खान पाउथे भने वर्षमा विरलै एकदुईपटक मात्रै मासु खान पाउथे भन्ने कुराबाट थाहा पाउन सकिन्छ ।
उनी बाल्यकालमा अरू सहपाठीभन्दा हृष्टपुष्ट, बलिया र लामा थिए । उनी बाल्यकालमा आफ्नो गाउँघरको जङ्गल, पहाड, नदीनाला, तालतलैयासँग रम्थे । उनी एक्लै पहाडको टुप्पोमा चढ्ने गर्थे । नदीमा पौडी खेल्थे । चिसो हिउँको तालमा ४० मिनेटभन्दा बढी नुहाउन सक्थे । यसले गर्दा उनी बलिया, स्वस्थ, आँटिला र निडर थिए । उनी बुबाको खेतमा कठिन काम गर्थे । बाल्यकालमै अरूले उचाल्न नसक्ने अन्नको भारी सजिलै काँधमा राखेर घर ल्याउने गर्थे । यसैले उनका बुबा उनलाई बलियो भएको हुँदा निरन्तर खेतिकिसानीमा लगाइ्रहन्थे । समग्रमा उनी प्रकृतिका सच्चा मित्र र प्रेमी थिए ।
सानैदेखि विद्रोही स्वभावका माओ स्कुलमा शिक्षकले सोधेको प्रश्नको जवाफ नआएपछि उनलाई धकेलेर बाहिर गए र तीन दिनसम्म जङ्गलमा लुकेर बसेका थिए । उनी विद्रोही स्वभावको भएको कारण शास्त्रीय ज्ञानभन्दा पनि रोमान्स र विद्रोहका पुस्तक पढ्न रुचाउथे ।
सन् १९०६ मा हुनान प्रान्तमा भएको आन्दोलनका कारण माओ त्यसप्रति आकर्षित भए । सन् १९११ मा क्वान्तुङ प्रान्तका अदम्य साहसी नेता डा. सनयात सेनको नेतृत्वमा भएको आन्दोलनले मन्चु वंशको राजतन्त्रात्मक शासन व्यवस्थालाई उखेलेर चीनमा गणतन्त्रको स्थापना गरेका थिए । डा. सेन चीनमा राजतन्त्रलाई फालेर पश्चिमा शैलीको संसदीय लोकतन्त्र स्थापना गर्न चाहन्थे तर राजतन्त्रबाट गणतन्त्र ल्याए पनि चीनलाई उनले पश्चिमा साम्राज्यवादी शक्तिको उपनिवेशबाट भने स्वतन्त्र बनाउन सकेका थिएनन् । चीनलाई स्वतन्त्र बनाउने उनको सपना अधुरै रह्यो । माओमा सनयात सेनको गहिरो प्रभाव परेको थियो । उनी डा. सेनलाई आफ्नो आदर्श नेता मान्ने गर्दथे । डा. सेनसँगै उहाँको नेतृत्वमा सम्पन्न भएको आन्दोलनको गहिरो प्रभाव माओमा पर्यो ।
चीनमा त्यतिखेर मध्ययुगीन बर्बरता चलिरहेको थियो । सामन्त र विदेशीको हैकम चलिरहेको थियो । चारैतिर अन्याय नै अन्यायको साम्राज्य व्याप्त थियो । गरिब, किसान र महिलाहरू चरम शोषणमा बाच्न विवश थिए । हत्या, बलात्कार, शोषण र दमन व्यापक थियो । माओमा यस्तो राज्यव्यवस्थाको संरचनामै खोट रहेको हुँदा राज्यसत्ता नै बदल्नुपर्दछ भन्ने भावना विस्तारै विकसित हुँदै गइरहेको थियो ।
उनी सानै उमेरदेखि पढाइमा सौकिन थिए । उनमा “वाटर मार्जिन” र “थ्री किङडम्स” पुस्तकको गहिरो प्रभाव थियो । यी दुईओटा किताब लिएर रुखको फेदमुनि गई घन्टौँ पढ्ने गर्दथे । गाउँमा नजिक स्कुल नभएको हुँदा गाउँबाट टाढा रहेको तुनसाङ हाइयर प्राइमरी स्कुलमा पढ्न गए । स्कुल पढ्न जाने बेला उनले आफ्ना यी दुई किताब झोलाको एकापट्टि र अर्कोपट्टि आफ्ना कपडा काँधमा बोकेर टाढाको स्कुल पढ्न गएका थिए । त्यो स्कुलमा पुगेपछि उनले भर्ना पाएनन् किनकि उनी उमेरले अरूभन्दा ठुला थिए र गरिब किसानका छोरा थिए । त्यो स्कुलमा मध्यम वर्गका बालबालिका पढ्ने गर्दथे । उनले चलाकीपूर्वक त्यो स्कुलमा भर्ना भए र त्यहाँ पढ्न थाले । तीक्ष्ण बुद्धिका माओले त्यो स्कुलबाट शिक्षा लिए र उत्तीर्ण भए ।
उनी कलेजमा पढ्ने बेला पनि कलेजमा हुने पिकनिक र अन्य क्रियाकलापमा पनि देश कसरी बन्छ, देश निर्माण कसरी गर्न सकिन्छ भनेर साथीहरूसँग बहस, छलफल चलाउने गर्दथे । साथीहरूसँग अध्ययन, राजनीति, देश र समाजका बारेमा छलफल गर्ने गर्दथे । उनी खाजा, खाना, कपडा किन्ने पैसाबाट पैसा जोगाएर किताब किन्ने गर्दथे । उनलाई कपडामा त्यति धेरै रुचि थिएन । उनि दिनरात, महिनौँ एउटै लुगामा हुन्थे । उनीसँग लगाउनलाई दोस्रो जोर लुगा पनि हुँदैनथ्यो ।
उनले चाङसाको नर्मल कलेजमा पाँच वर्ष पढ्दासम्म १६० चिनियाँ रुपिया मात्र खर्च गरे । यसमध्ये पनि एकतिहाइ बढी रुपियाँ पत्रपत्रिका र पुस्तकमा खर्च गरेका थिए भने बाँकीी कलेजको फी र अन्यमा खर्च गरेका थिए ।
नर्मल कलेजको पढाइ सकेपछि उनका साथीहरूले विदेश पढ्न जाने भनेर भाषा कक्षा लिन थाले तर उनलाई भाषा कक्षा लिएर विदेशी भाषा सिकेर विदेश जाने रुचि नै भएन बरु उनी मजदुर र गरिबको बिचमा गएर उनीहरूलाई सङ्गठित गर्ने र पढाउने काम गर्दथे ।
उनी सन् १९१९ को वशन्तको एक दिन सङ्घाईको बन्दरगाहमा पातलो फाटेको सुतीको गाउन लाएर उभिरहेका थिए । साइहो सेनलगायतका साथीहरूको विदेश विदाइका लागि उनी त्यहाँ उभिरहेका थिए । उनका साथीहरू स्टिमरमा चढिसकेका थिए । स्टिमर समुद्रमा टाढा जाँदै थियो । टाढा नदेखिनेसम्म उहाँले साथीहरूलाई हेरिरहे । उनले स्टिमर मात्र देखिने अवस्थासम्म हेरिरहे र साथीहरूलाई हात हल्लाउदै बिदा भए । आँखामा बिदाइको आसु पुछ्दै उनी आफ्नै गाउँ हुनान प्रान्त फर्किए । सँगैका दौतरीहरू उच्च शिक्षा र सुनौलो जीवन जिउने अभिलाषाका साथ माओलाई छोडेर विदेश गए ।
आफ्ना दौतरीहरू उच्च शिक्षा लिन फ्रान्स, जर्मन, बेलायत गए पनि उनलाई भने आफ्नै गाउँ, समाज र देश प्यारो थियो । उनलाई त्यहीँ बस्न रोक्ने केही चिज थियो तर उनले त्यो चिजलाई सूत्रबद्ध गर्न सकिरहेका थिएनन् । तिनीहरूलाई रोक्ने चिज थियो, आफ्ना जनतामाथि भइरहेको शोषण र दमन, जसले उनका साथीहरूलाई विदेश धकेल्यो भने उनलाई क्रान्तिमा धकेल्यो । भविष्यमा त्यही क्रान्तिले माओलाई निर्माण गर्यो । माओले क्रान्ति निर्माण गरे । क्रान्ति र माओ एकार्काका परिपूरक बनिसकेका थिए ।
उनलाई विदेश बुझ्नुभन्दा पहिला आफनै देश बुझ्नु थियो । आफ्नै देश पढ्न धेरै बाँकी थियो जसले गर्दा उनी विदेश नगई स्वदेशमै बस्न बाध्य भए ।
उनी उच्च शिक्षा पढ्न पेकिङ गए । पेकिङ जाने बेलासमेत घरमा बुबासँग पैसा मागेनन् । उनीसँग पैसा नभएको हुँदा पेकिङ जाने बेला साथीहरूसँग लिएको थोरै ऋण जोगाउन उनी १५५ माइलभन्दा बढी हिँडेर पेकिङ पुगे । उनी बाटोमा समेत पैसा कमाउन तिहारको बेलामा घरमा लगाउने माला र चित्र बनाउँदै बेच्दै आफ्नो बाटोखर्च र खाना खर्च निकाल्ने गर्दथे । यसरी हिँडेरै उनी पेकिङ विश्वविद्यालय पुगे ।
पेकिङमा उनले आफ्नो पुरानो कलेजका प्राध्याक याङचाङ चीलाई भेटे । उहाँले पेकिङ विश्वविद्यालयमा माओलाई सहयोग गर्नुभयो । माओलाई उहाँले पेकिङ विश्वविद्यालयका पुस्तकालय अध्यक्ष लीता चाओसँग परिचय गराइदिए । उनलाई खर्चको साह्रै अप्ठ्यारो परेको हुँदा उनी सोही पुस्तकालयमा सहायक लाइब्रेरियनको रूपमा काम गर्न थाले । त्यहाँ उहाँलाई त्यति बेला महिनाको ८ चिनियाँ रुपियाँ तलब मिल्दथ्यो । यसले खर्च नचल्ने भए पनि उनीलाई बाच्नु थियो । त्यसैले उनले ८ रुपिया मासिक तलबमै भए पनि काम गर्न थाले ।
त्यहाँ उनले लाइब्रेरीमा किताब पढेर सन्तुष्टि लिए । उहाँका अध्यक्ष लीता चाओ तत्कालीन चीनका एक प्रमुख र प्रतिभाशाली बुद्धिजीवी थिए । उहाँले नै चीनमा सुरुमा मार्क्सवादसम्बन्धी विचार जानकारी गराउने र कार्यक्रम गर्ने गर्दथे । माओले त्यहाँ रहँदा उहाँबाट मार्क्सवादसम्बन्धी धेरै कुरा सिक्ने अवसर पाए । उनी चाओले गठन गरेको मार्किसिस्ट स्टडी ग्रुपसँग आबद्ध हुन पुगे । उनी त्यहाँ विश्वविद्यालयमा हुँदा राति राति रेलवे मजदुरलाई सङ्गठित र प्रशिक्षित गर्न जाने गर्दथे ।
मे ४, १९१९ मा भएको साहित्यिक आन्दोलनमा माओ सहभागी भए । यसै आन्दोलनदेखि उनी निरन्तर आन्दोलनमा दृढताका साथ अगाडि बढिरहे । त्यतिखेर सन् १९१७ मा भएको रसियन क्रान्तिको व्यापक प्रभाव चीनमा परिरहेको थियो ।
सन् १९१८ मा प्रथम विश्वयुद्धको अन्त्य भयो । यसको प्रभाव पनि चीनमा ब्यापक रूपले पर्यो । चीनले युद्धको बेला मित्रराष्ट्रको पक्ष लिएर लडेको थियो तर युद्ध जितेपछि पनि मित्रराष्ट्रहरूले चीनको पक्ष र हितमा काम गरेनन् । चीनको गुमेको भूमि फिर्ता गरिएन र चीनमा यसका विरुद्ध आन्दोलन भई नै रह्यो ।
विश्वयुद्धपछि पनि चीनलाई अपमानित नै गरिराखे । चिनियाँ जनतालाई निराश बनाइयो । पेरिस सम्झौताले चिनियाँ जनतालाई झन् अपमानित गरेको महसुस गरे । यसको प्रभावसमेत माओमा पर्नु स्वाभाविक थियो ।
पहिले चीनको जर्मन मातहत रहेको भूभाग पेरिस सम्झौतापछि जापानलाई दिइयो । यसका विरुद्ध चिनियाँ जनतालाई आन्दोलित गर्नुपर्छ भनेर विद्यार्थीले सङ्घर्ष सुरु गरे । यसरी माओ आन्दोलन, सङ्घर्ष, प्रकाशन, लेखन, अध्ययन, मजदुर र विद्यार्थीका बिच सङ्गठन, प्रक्षिक्षणलगायतका काममा निरन्तर लागिरहे ।
उहाँले भूमिगत रूपमा २५/२६ वर्षका युवा समेटेर कम्युनिस्ट पार्टी गठन गर्ने जिम्मेवारी पाए र कम्युनिस्ट पार्टी गठन गरे । उनी आफ्नो गाउँका युवाबिच लोकप्रिय थिए । उनले सुरुमा आफ्नै गाउँमा सन् १९२० मा किसानका बिच कम्युनिस्ट पार्टीको शाखा गठन गरे र यसै बेलादेखि उनले आफ्नो जीवन क्रान्तिका निम्ति समर्पित गरे ।
उहाँ पेकिङ विश्वविद्यालयमा पढ्दा एउटा सुन्दर युवती याङकाइ हुईसँग प्रेममा पर्नुहुन्छ तर उहाँहरू दुवै जनाले त्यति बेलासम्म मार्क्सवादी विचार अपनाइसकेका थिए । दुबैले क्रान्तिको सेवा गर्ने निर्णय गरिसकेको हुँदा त्यो कल्कलाउँदो बैँसमा समेत प्रेमलाई भन्दा क्रान्तिलाई बढी समय दिनुपर्ने भएको हुँदा आफ्नो प्रेमलाई समय दिएनन् । युवावयको जोडीको प्रेमिल आनन्द लिनुभन्दा पनि उनीहरूमा क्रान्तिप्रतिको प्रेम बढी रहेको हुँदा उनीहरू पार्टीको काम गर्न दुई वर्ष अलग अलग ठाउँमा जिम्मेवारी लिएर छुट्टिए ।
उनीहरू दुवै लाई थाहा थियो, क्रान्तिमा जति बेला पनि सङ्कट आउन सक्छ । जेलनेल, यातना, दुःख वा मृत्यु नै पनि वरण गर्नुपर्ने अवस्था आउन सक्छ तैपनि उनीहरूले प्रेमभन्दा बढी समय क्रान्तिलाई दिने कसम खाए । यसरी प्रेममा रोमान्स गरेर समय बिताउनुको सट्टा उनी दुबैले क्रान्ति रोजे र दुवै जनाले पेकिङ सहर छोडेर गाउँमा टाढा टाढा अलग भएर क्रान्तिको काममा लागे ।
दुई वर्षपछि उनीहरूमाझ बिहे भयो । दुईओटा सन्तान जन्मिए । क्रान्तिकै दौरान याङलाई च्याङकाई सेकको सेनाले सन् १९३० मा पक्राउ गर्यो र चरम यातना दिई निर्ममतापूर्वक उनको हत्या गरियो ।
माओले सन् १९२७ सम्म निरन्तर आन्दोलनमा भाग लिए । कोमिन्ताङको नेतृत्वमा कोमिन्ताङ र सिसिपीको बिचमा प्रथम संयुक्त मोर्चा गठन भएको थियो । सो मोर्चामा दुई पार्टी भए पनि एकै पार्टीसरह जस्तै गरी काम गरेका थिए । सो मोर्चामा अन्तिम अवस्थासम्म माओले इमानदारितापूर्वक काम गरेका थिए । सिपिसी र कोमिन्ताङबिच अन्तरसङ्घर्ष र अन्तरविरोध निरन्तर भई नै रह्यो । पच्छिल्लो समय च्याङकाई सेकले सिपिसीलाई कोमिन्ताङ पार्टीबाट अलग गर्ने निर्णय गर्यो साथै सिपिसीका नेताकार्यकर्ताको सफाया गर्ने, जेल हाल्ने, यातना दिने जस्ता कार्य गर्न थालेपछि सिपिसी र कोमिन्ताङबिचको संयुक्त मोर्चा विघटन भयो ।
यता, सिपिसीमा माओ केन्द्रीय सदस्य मात्रै भएको हुँदा पार्टीले उनको कुरा सुनिदैनथ्यो । उनको आवाज र विचार पार्टीमा लागु हुँदैनथ्यो । उनलाई पार्टीका नेताहरूले उग्र दक्षिणपन्थी, सङ्कीर्ण तथा जडसूत्रवादी जस्ता आरोप लगाउने गर्थे । उनले प्रतिबद्व रही निरन्तर पार्टीभित्र सङ्घर्ष गरिरहे । पार्टीले उनका लेखरचना र विचार प्रकट गर्न र प्रकाशन गर्न बन्देज नै लगाएको थियो । यसको कारण थियो– पार्टीमा नेतृत्व तहमा रहेका अधिकांश नेताहरू रसियन कम्युनिस्ट पार्टी र स्टालिनको निर्देशनबमोजिम चल्ने गर्दथे र बढीजसो नेताहरू रसिया नै पढेर आएका थिए । उनीहरूले चिनियाँ परिस्थिति र वस्तुस्थिति नबुझिकनै सैद्धान्तिक आधारमा मात्रै पार्टीमा विचार राख्ने र निर्णय लिने गर्दथे । उनीहरूले पार्टीलाई मजदुर वर्गमा मात्रै लैजानुपर्छ किनकि किसान सर्वहारा हुन सक्दैनन् भन्ने विचार राख्ने गर्दथे तर माओले भने ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै चिनिया क्रान्तिका मुख्य बाहक चिनिया किसान रहेकोमा दृढ निश्चित थिए ।
यसै आधारमा उहाँले च्याङसा पहाडलाई आधार इलाका बनाई आफ्नो गतिविधि अगाडि बढाउन थाले जहाँ पार्टीको सर्कुलर पुग्न दुई महिना लाग्ने गर्थ्यो ।
यसरी उनले सङ्गठन विस्तार गर्दै लगे । किसानको बिचमा पार्टीलाई पुर्याउने काम गरे । किसानका समस्या सम्बोधन गर्दै आफ्नो क्षेत्रमा किसानका पक्षमा नयाँ नीति बनाउदै उनीहरूका प्रिय बन्दै गए ।
माओले सन् १९३४ मा घरबार नभएका, भोकानाङ्गा र गाउँ समाजबाट लखेटिएकाहरू, जोसँग आफ्नो भन्नु केवल एक थान शरीर मात्र थियो वा भनौँ, यो एक किसिमको वनवास थियो तर यो सत्ताका विरुद्ध जनताको विद्रोह थियो । सुरुवातमा माओले १,३०,००० जनाको नेतृत्व गरी राजनैतिक अभियान ७,५०० माइल लामो लङ मार्च सुरुवात गरेका थिए । यो अभियान जनवरी १९३५ सम्म चल्यो । यो अभियानमा २५,००० मात्रै बाँच्न सफल भए । माओले यो अभियानमा हजारौँ मानिस गुमाउनुपर्यो । यसले जनतामाझ कम्युनिस्ट पार्टीलाई चिनायो । सत्ताधारीलाई जनताको शक्ति कस्तो हुन्छ भन्ने कुरा बतायो र माओलाई एउटा नया राजनैतिक ऊर्जा प्रदान गर्यो ।
उहाँले मार्क्सवादलाई चिनिया धर्तीअनुकूल बनाउन सफल हुनुभयो । यसपछि माओ पार्टीभित्र एउटा नेताका रूपमा स्थापित हुन पुग्नुभयो । उहाँको विचार र राजनीतिलाई अर्थपूर्ण रूपले लिन थालियो ।
त्यसपछि माओले दोस्रो संयुक्त मोर्चाको नीति लिनुभयो । जापानका विरुद्ध कोमिन्ताङ र सिपिसी पुनः मिलेर लडे मात्रै चीनबाट जापानी सेनालाई हटाउन सकिने विचार ल्याए । यो नीति ५ वर्षपछि मात्रै सफल भयो । च्याङकाई सेकसँग संयुक्त मोर्चा बनाई जापानी सेनालाई चीनबाट लखेटे । त्यसपछि चीनमा क्रान्ति सम्पन्न गर्नुपर्छ भनेर आफ्नो सङ्गठन विस्तार गर्नपट्टि लागे ।
सन् १९४५ अप्रिलमा येनानमा पार्टीको सातौँ महाधिवेशन सम्पन्न भयो । सन् १९२८ मा समाप्त झैँ भइसकेको पार्टी यस बेलासम्म आइपुग्दा मिलिसिया, जनसेना र पार्टीसदस्यसमेत गरी ४५ लाखभन्दा बढी भइसकेको थियो । माओले पार्टीलाई विश्वकै दोस्रो ठुलो कम्युनिस्ट पार्टी बनाएका थिए ।
उहाँ सातौँ महाधिवेशनबाट निर्विरोध पार्टी चेयरम्यानमा निर्वाचित भए । योभन्दा अगाडि पनि जनताले उहाँलाई चेयरम्यान माओ नै भनेर बोलाउथे तर उहाँ औपचारिक रूपले चेयरम्यान बन्नुभएको थिएन । उहाँले विजयको दिशामा अगाडि बढ्न अपिल गर्नुभयो । उहाँले पार्टीको नेतृत्व गरेको ४ वर्षपछि १९४९ अक्टोबरमा चिनियाँ नयाँ जनवादी क्रान्ति सफल भयो ।
क्रान्तिलाई उहाँले कलाको रूपमा विकसित गर्नुभएको थियो । उहाँ क्रान्तिको कलाकार हुनुहुन्थ्यो । उहाँमा एउटा अलौकिक अपिल थियो । उहाँ आफू र अरूका प्रति उत्तिकै निर्मम हुनुहुन्थ्यो । जसरी एउटा मूर्तिकारले निर्मम ढङ्गले कठोर ढुङ्गालाई पिटेर सुन्दर मूर्ति बनाउने गर्छ, माओले त्यसरी नै क्रान्तिको गहिराइमा पुगेर क्रान्तिलाई आकार दिए, सुन्दर र सफल बनाए । उहाँ क्रान्तिका लागि यति धेरै आल्हादित भएर काम गर्नुहुन्थ्यो, उनी निरन्तर काम गर्दा आफैलाई बिर्सन्थे । त्यसैबाट नयाँ सौन्दर्य निस्कन्थ्यो : कलात्मक राजनीतिक लेखन ।
उहाँ दर्शनशास्त्रका उत्साही विद्यार्थी थिए । एक दिन उहाँलाई भेट्न आएका एक जनाले दर्शनका केही किताब दिएर गए । यी किताब उनले तीनचार दिनमा पढेर सिध्याए । त्यो बेला अरू सबै कुरा छोड्नुभयो उहाँले । उहाँ राती ३ बजेसम्म पढ्नुहुन्थ्यो ।
उहाँले आफ्नो प्रसिद्ध लेख “जनयुद्धको बारेमा” सन् १९३८ मा लेख्नुभएको थियो । यो लेख लेख्दा उहाँ पहिलो दुई दिन सुत्दै सुत्नुभएन, खाना खान पनि भुल्नुभयो । उहाँ भिजेको रुमालले आफ्नो मुख पुछिरहेका देखिनुहुन्थ्यो । पाँचौँ दिन उहाँ दुब्ला देखिनु हुन्थ्यो । आँखा राता भइसकेका थिए तैपनि उनको लेखन जारी रह्यो । सातौँ दिन भइसक्यो तर उहाँ आफ्नो लेखनमा यति मुग्ध हुनुभयो, उहाँको खुट्टाको जुतामा लागेको कोइलाको आगो खुट्टामा पुगेपछि मात्रै थाहा पाउनुभयो । नवौँ दिन उहाँले त्यो लेख सिध्याउनुभयो ।
क्रान्तिप्रति उहाँको अटुट विश्वास थियो । उनी आफ्नो कठिन परिस्थितिमा पनि सधैँ एउटा कथाबाट प्रेरणा लिइराख्नु हुन्थ्यो । कथा यस्तो थियो ।
उत्तरी चीनमा बस्ने एउटा बुढो मानिसको घर दक्षिण दिशातर्फ फर्केको थियो । उसको घरको ढोकाअगाडि अजङ्गको पहाड थियो जसले घाम कहिल्यै आउँदैनथ्यो अनि बाहिर जान पूरै पहाड उक्लिनुपर्थ्यो । त्यो अजङ्गको पहाडले बुढोलाई जीवनभर दुःख दियो ।
एक दिन बुढाले आफ्ना सन्तानले आफू जस्तै दुःख नपाउन् भनेर पहाड भत्काउने निर्णय गर्यो र हातमा कोदालो लिएर खन्न थाल्यो ।
गाउलेहरू त्यो देखेर हास्न थाले– मूर्ख बुढो डाँडापारीको घाम भइसकेको छ । कुन दिन पो मर्छ, अनि खन्छ पहाड तर बुढो आत्तिएनन् बरु पहाड खनेर नै मर्छु भने । मैले मरे पनि भोलि भविष्यमा मेरा छोरा, नाति, पनातिले यो काम पूर्ण गर्ने छन्, यसमा सफल हुने छन् भनेर भविष्यप्रति आशावादी हुँदै पहाड खन्ने काम सुरु गरे । त्यो बुढाको आँट, सन्तानको भविष्यप्रतिको माया र सुखप्रति प्रतिबद्ध भएको देखेर देवदूत प्रभावित भए र उनीहरू आएर त्यो पहाड खनेर गए ।
यस्तै, जनताको सुखका लागि वा सही कामले एक दिन सफलता पाउँछ, क्रान्ति सफल हुन्छ भन्ने दृढ विश्वास माओमा थियो । देवदूतरूपी जनता एक दिन क्रान्तिको पक्षमा उर्लिने छन् र क्रान्ति सफल हुने छ भन्ने विश्वास उहाँमा थियो । उनकै नेतृत्वमा सन् १९४९ मा संसार हल्लाउने चिनियाँ नयाँ जनवादी क्रान्ति सफलसमेत भयो ।
अक्टोबर १, १९४९ को त्यो दिन पेकिङको तियानमेन चोक जहाँ डा. सनयात सेनको ठुलो मूर्ति राखिएको थियो । त्यसको दुवैपट्टि माओत्सेतुङ र उनको पार्टीका पोलिटब्युरो सदस्य उभिएका थिए । लाखाँं चिनियाँ जनता माओलाई हेरिरहेका थिए । त्यो दिन क्रान्तिको विजय भएको दिन थियो । सहरभरि आतिसबाजी चलिरहेको थियो तर माओ किञ्चित रोमाञ्चित हुनुहुन्थेन । उनमा घमण्ड रत्ति पनि थिएन । अहङ्कारको कुनै संवेग थिएन । उनमा केवल गहिरो विनम्रता थियो । एउटा महान् काम सुरु गर्ने अभिलाषा थियो जसको सुरुवात मात्र भएको थियो । लङमार्चको दोस्रो सुरुवात थियो यो । यति वर्षौं लामो सङ्घर्ष जसमा लाखौँ जनताले सहादत गरेका थिए, बलिदानी दिएका थिए, यो दिन, त्यो कुर्बानी र सहादतको परिणाम थियो जहाँ माओ र चिनियाँ जनताले इन्च इन्च लडाइँ लडेर विजय हासिल गरेको दिन थियो । यो कुनै चमत्कार र सित्तै बक्सिस पाएको अवस्था थिएन । यसले पूरै चीनमा परिवर्तन ल्यायो । विश्वमा परिवर्तन ल्याउने आँकलन गरियो ।
यो यात्रा गर्व गर्नलायक थियो तर त्यो महान् सङ्घर्षको तुलनामा यो विजयको कदम छोटो थियो । यो जितभन्दा सङ्घर्ष धेरै कठिन थियो । अबको बाटो धेरै लामो थियो किनकि अझ धेरै कडा मिहिनेत गर्न बाँकी थियो । जनताले सामन्तवाद र साम्राज्यवादरूपी पहाड ढालेका थिए र तिनीमाथि विजय हासिल गरेका त थिए तर सत्य यो थियो, क्रान्तिकारी भोका थिए, गरिब थिए, फाटेको कम्बल झैँ देश विध्वंस भएको थियो । देश भोकानाङ्गाले भरिएको थियो तर जनताको विश्वास माओप्रति थियो : उहाँ इतिहास निर्माता मात्र होइनन्, हामीलाई गरिबी र भोकमरीबाट मुक्ति दिलाउने छन् र देशलाई सम्पन्न बनाइछाड्ने छन् ।
जनताको उहाँप्रतिको यो साथसमर्थन र विश्वासप्रति माओले कहिल्यै घात गरेनन्, जनतालाई सम्पन्नताको दिशामा अगाडि लगे र देशको पुनर्निर्माण गरेर जनताको सेवामा निरन्तर समर्पित भई लागिरहे र नारा दिए– “जनताको सेवा गरौँ” ।
माओ जनताका माझ यति धेरै प्रिय हुनुमा उहाँको राजनीतिक विचार, दर्शन, राजनीति र इमानदारिता थियो । उहाँ पढाइमा सबैभन्दा बढी ध्यान दिने गर्नुहुन्थ्यो जसका कारण उहाँले कम्युनिस्ट आन्दोलनमा माओ विचारको प्रतिपादन गर्न सफल हुनुभयो । चीनमा मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मार्क्स, एङ्गेल्स, लेनिन र स्टालिनकै दर्जामा उहाँको स्थान रहन सफल भयो ।