काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा युथफोर्स बनाएर आफूहरुले आतंकको साम्राज्यलाई परास्त गरेको बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा एमालेले ‘भोलेन्टियर्स नेसनल नेटवर्क’ बनाउने घोषणा गर्दै ओलीले युथफोर्सले आतंकलाई निस्तेज पारेको बताएका हुन् ।
सत्तारुढ दल माओवादीको नाम नलिइकन उनले सैद्धान्तिक तवरले र मूलरुपमा हिंसा परित्याग गरिसकेको अवस्थामा निसश्त्र तथा निहत्था मान्छेमाथि आतंक मच्चाएको उल्लेख गर्दै युथफोर्सले त्यसलाई निस्तेज पारेको दाबी गरे ।
उनले भने, ‘भोलेन्टियर सर्भिसकै रुपमा युथफोर्स बनायौँ। त्यसले एक समय असाधारण काम गर्यो। एउटा आतंकको साम्राज्य छाइरहेको बेला त्यस आतंकको साम्राज्यलाई, त्यसलाई समाप्त पार्यो। र, एउटा शान्ति स्थापनामा युथफोर्सको असाधारण योगदान रह्यो। महत्व रह्यो।’
महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर फेरि परिचालन गर्न चाहेको ओलीको भनाई थियो।