दिनेश रैदास, दाङ ।
छुवाछुत उन्मूलन दिवसको सन्दर्भमा जातीय समता समाज दाङले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका महासचिव भक्त विकको प्रमुख आतिथ्यमा २०८१ जेठ २१ सोमबारका दिन घोराहीस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
“विद्यमान सामाजिक अवस्था र छुवाछूत उन्मूलन दिवसको महत्त्व” विषयक उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि विकले समाजमा अझै पनि जातीय भेदभाव तथा छुवाछुतको अवस्था विकराल रहेको दाबी गर्नुभयो ।
‘दलित समुदाय अझै पनि कानुनको पहुँचबाट टाढा छन्’ उहाँले भन्नुभयो– ‘जातीय विभेद अन्त्यका लागि राज्यले अवलम्बन गरेका संवैधानिक तथा कानुनी व्यवस्था सबै कागजमा मात्र सीमित रही दलित समुदायका लागि पानी नआउने धारासरह भएका छन् ।’
उहाँले छुवाछुतसम्बन्धीि विद्यमान कानुनको कार्यान्वयन अत्यन्त फितलो रहेको बताउनुभयो ।

‘विभेद स्वरूप फेरिएका छन् । सरकारको कर्मकाण्डी प्रतिबद्धता यथावत् नै छ । दलित मुद्दालाई राष्ट्रिय मुद्दा नठान्ने मानसिकता बाँकी नै छ । पीडकलाई राजनीतिक संरक्षण आदि कारणले बनेका कानुन पनि निष्प्रभावी देखिन्छन्’ उहाँको निष्कर्ष थियो ।
कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले जातीय समस्या सम्पूर्ण मानव समुदायभित्रको समस्या भएको धारणा राख्नुनभयो ।
‘पुँजीवादले मान्छेमान्छेमाझ भेदभाव कायम राख्दछ’ उहाँले भन्नुभयो– ‘कम्युनिस्टको मुख्य लक्ष्य उत्पीडित, गरिब वर्गको पक्षमा लडाइ लड्नु हो ।’
प्रतिरोध अभियनका संयोजक प्रमोद धितालले कार्यक्रममा मन्तव्य राख्दै जातीय मुद्दा पनि सामाजिक मुद्दा हो भनेर समाजका अगुवाले बुझ्न नसकेकोको आरोप लगाउनुभयो ।

दलित सेवा सङ्घकी अध्यक्ष लीला विकले सम्पूर्ण दलित अब बाँडिएर होइन, एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ दाङका सदस्य गिरिराज नेपालीले दलितसित समाजको नेतृत्व गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कमिट नेपालका उपाध्यक्ष भीमबहादुर बादी (नेपाली) ले बोल्दै दलितले बगाएको रगतले अझै पनि मुक्ति नपाएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष शङ्कर नेपाली, नेपाल दलित सङ्घका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, श्रमिक समुदायका केन्द्रीय सदस्य विष्णु नेपाली, जातीय समता समाजका लुम्विनी प्रदेश सदस्य चन्द्रबहादुर नेपाली, समाजकै प्रदेश सदस्य शान्ति सुनार, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ध्रुवराज गहतराजलगायतले मन्तब्य राख्नु भएको थियो ।
एवम् प्रकारले समाजका पूर्व जिल्ला अध्यक्ष देवबहादुर विक र अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलको पनि कार्यक्रममा आतिथ्य रहेको थियो ।

समाजका दाङ जिल्ला अध्यक्ष सूर्यलाल नेपालीको अध्यक्षता तथा सचिव बलदेव विकको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदको स्मरणमा मौनधारणपछि सहसचिव पोशन नेपालीले स्वागत गर्नुभएको थियो ।
