काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद नै अन्त्य गर्ने षडयन्त्र भएपछि रविको नाम नराखेरै सहकारीसम्बन्धी छानबिन समिति बनाउन तयार भएको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा नराखेपनि छानबिनमा स्वतः तानिने थापाको दाबी छ ।
बिहीबार सामाजिक सञ्जालमा प्रस्तुत भिडिओ सन्देशमा उनले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठनको पृष्ठभूमी र उद्देश्यबारे स्पष्ट पार्दै थापाले समिति नै नबनाउने जालझेल भएपछि गृहमन्त्री लामिछानेको नाम नराखेरै समिति बनाउन कांग्रेस तयार भएको बताएका छन् ।
थापाले भिडिओमा भनेका छन्, ‘फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने यो (रवि लामिछाने) नामै तोकेर समिति बनाउँ भनेर कांग्रेसले भनिराखेको छ। संसद अरु केही दिन यसरी पेलेर चलाउने। सभामुखले पनि साथ दिनुभएकै छ। त्यसपछि संसद बन्द गर्दिने। संसद बन्द गरिसकेपछाडी अब ६ महिना पछि मात्रै, करिब करिब एक्कैचोटी ६ महिनापछि संसद बोलाए भैहाल्यो। र, संसदीय समिति नबनाउने।’
उनले गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको र रकम अपचलन गरेको प्रमाण भएकोले गोर्खा मिडियाको नाम राखेर सो बारे अनुसन्धान सुनिश्चित हुनेगरी अनुसन्धान अघि बढाउन तयार भएको बताए।
थापाले सहकारीका लाखौं बचतकर्ताको रकम फिर्ता हुन्छ भनेर बचतकर्तालाई आश्वस्त पार्न नसकिने पनि स्पष्ट पारेका छन्।
तर, छानबिन समितिले सहकारीको रकम अपचलनमा संलग्नलाई कारबाही, पीडितको बचत फिर्ता र सहकारीमा सुधारका उपायसहितको सुझाव संसदीय समितिले दिने विश्वास व्यक्त गरेका छन्।