• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

समाजवाद र क्रान्तिको गौरवशाली युग : लेनिनवाद


  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    लेखसार

    लेनिनको मृत्यु भएको १०० वर्षको यो अवधिभित्र विश्वमा अनेकानेक परिवर्तन भएका छन् । विभाजन र विवादभित्र प्रवेश गरेर साम्राज्यवादले वितण्डा मच्चाइरहेको छ र विश्वलाई विध्वंसात्मक युद्धको बाटोमा धकेलिरहेको छ । लेनिनवाद साम्राज्यवादकालीन क्रान्तिको विज्ञान हो । लेनिनवादको सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक मार्गमा आजको कम्युनिस्ट आन्दोलनले आफूलाई समृद्ध गर्नैपर्दछ । माक्र्सवादलाई सामाजिक क्रान्तिको विज्ञानको रूपमा प्रमाणित गर्नुका साथै द्वन्द्वात्मक भौतिकवादको कार्यान्वयन र प्रतिक्रियावादी दर्शनको आलोचना गर्नु तथा कम्युनिस्ट पार्टीले क्रान्तिपूर्व र क्रान्तिको कार्यदेखि राज्यसत्ता सञ्चालन गर्न र त्यसलाई समृद्ध बनाउन राजनीतिक भूमिका खेल्नुपर्ने जस्ता राजनीतिक दायित्व पूरा गर्नका लागि सर्वहारा वर्ग हिँड्ने राजनीतिक सिद्धान्तको प्रतिपादन लेनिनका दार्शनिक, सैद्धान्तिक र राजनीतिक योगदान हुन् । सर्वहारा अधिनायकत्वमा विभिन्न जातजाति, समुदाय, क्षेत्र, संस्कृति, भाषा, स्वायत्त अधिकार, आत्मनिर्णयको अधिकार, शिक्षा, विकास योजना आदिबारे ठोस, न्यायपूर्ण र राष्ट्रिय हितमा समर्पित हुने गरी राष्ट्रिय नीति बनाउनुपर्नेमा जोड दिँदै आफूमाथि दमन गर्ने बुर्जुवा राज्यसत्तालाई श्रमजीवी वर्गले उन्मूलन गर्न सक्दछ भन्ने माक्र्सवादी निष्कर्षलाई लेनिनले व्यवहारमा परिणत गराउने काम गरे । उनले कम्युनिस्ट पार्टीले काम गर्ने तरिकाको व्यवस्थित र वैज्ञानिक दृष्टिकोणीय पद्धतिको सिद्धान्त निर्माण गरे । क्रान्तिको लक्ष्यमा प्रतिबद्ध कम्युनिस्ट पार्टीले वैधानिक आन्दोलनका महŒवलाई गम्भीरताका साथ लिनुपर्छ भन्ने मान्यता लेनिनवादले मार्गनिर्देशन गरेको राजनीतिक पक्ष हो । सङ्गठनको क्षेत्रमा लेनिनले सर्वप्रथम वैज्ञानिक संरचनाको शैली र पद्धतिको सिद्धान्त प्रतिपादन गरे । लेनिनवाद निर्माणका लागि लेनिन र रुसको सर्वहारा वर्गको अद्वितीय योगदान रहेको छ । लेनिनवादलाई अजेय बनाउनका लागि अक्टोबर क्रान्ति र त्यसले स्थापना गरेको समाजवादी मूल्य सर्वश्रेष्ठ रहेका छन् । लेनिन विश्व सर्वहारा वर्गका महान् नेतृत्व र गुरु हुन् । सर्वहारा वर्ग लेनिनवादको महान् उत्तराधिकारी भएको कुरा अकाट्य र स्वयम्सिद्ध छ ।

    शब्दकुञ्जी : क्रान्ति, समाजवाद, प्रतिध्रुव, साम्राज्यवाद, वर्गविभाजन, सर्वहारा, अन्तर्राष्ट्रियतावाद ।

    विषयप्रवेश

    लेनिनको मृत्यु भएको १०० वर्षको यो अवधिभित्र विश्वमा अनेकानेक परिवर्तन भएका छन् । एकातिर, रुसी क्रान्तिको करिब ३० वर्ष अर्थात् लेनिनको मृत्यु भएको २३ वर्षपछि चीनमा महान् जनवादी क्रान्ति भयो । सोभियत सत्ता चलिरहेको अवस्थामा तथा पूर्वी युरोपमा उदाएको समाजवादी लहरमाथि थपिएको चीनको उक्त जनवादी क्रान्तिको युगले विश्वमा समाजवादी विश्व निर्माणको दिशामा असीम विश्वास र भरोसा थप्नुको साथै क्रान्तिको युगमा नयाँ सिद्धान्त पनि जोडिदियो । क्रान्तिको विज्ञानमा नयाँ योगदान थपिँदै गए । चीनको क्रान्तिले क्रान्तिका विभिन्न सम्भावना हुन्छन् भन्ने कुरा फेरि प्रमाणित गर्‍यो तर अर्कातिर, विश्व राजनीतिक व्यवस्थामा पुँजीवादको शक्तिशाली प्रतिधु्रवको दीर्घकालीन अस्तित्व कायम रहन सकेन ।

    सन् १९५३ मा स्टालिनको मृत्यु भएपछि समाजवादी सत्ता कमजोर भयो । सन् १९७६ मा माओको मृत्यु भएपछि समाजवादी सत्तामा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलन नै रक्षात्मक अवस्थातिर धकेलियो । फलस्वरूप सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेभिक) छैन र सोभियत सत्ता विघटन हुनुका साथै रुसको साम्राज्यवादमा पतन भएको छ । चीनमा माओको पार्टी छैन र चीनको पनि साम्राज्यवादमा पतन भएको छ । विश्वमा समाजवादी व्यवस्था रहेका छैनन् ।

    आज विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा निकै सङ्कटको अवस्थाबाट गु्रजिरहेको छ । अमेरिकी साम्राज्यवादको प्रभाव विश्वमा फैलिएको छ । चिनिया साम्राज्यवाद अमेरिकी साम्राज्यवादलाई टक्कर दिँदै अगाडि बढिरहेको छ । विश्वमा भारतलगायत कैयौँ देश साम्राज्यवादी बनेका छन् । पुँजीवादका वित्तीय संस्थाले विश्व भ्रमण गरेर साधनस्रोतको दोहन गरिरहेका छन् र तेस्रो विश्वका मुलुकको अवस्थालाई तहसनहस पारिरहेका छन् । विश्व बैङ्क र विभिन्न वित्तीय संस्थाले साम्राज्यवादको पुँजी सङ्कलन कार्यलाई तीव्र बनाइरहेका छन् र तिनीहरूले साँवा र ब्याजको हिसाब गरेर पुँजीवादको आयु बढाउने काम गरिरहेका छन् । विभाजन, विवाद, विषाद, विस्तार, वितण्डा, विध्वंस, विकृति, विकाराल, विनाश जस्ता विशेषताले साम्राज्यवाद सजिएको छ । त्यसले विभिन्न राष्ट्रलाई उपलब्ध गराउने सहयोग वा ऋणको उद्देश्य त्यसको शक्तिमा विस्तार गर्नु हो । त्यसबाट विभिन्न राष्ट्र बिचमा विभाजन र विवादको विष प्रवाह हुने गरेको छ । त्यस प्रकारको विभाजन र विवादभित्र प्रवेश गरेर त्यसले वितण्डा मच्चाइरहेको छ र विश्वलाई विध्वंसात्मक युद्धको बाटोमा धकेलिरहेको छ ।

    साम्राज्यवादको त्यस प्रकारको नीतिबाट विकाराल स्थिति सिर्जना भइरहेको छ र सम्पूर्ण विश्वलाई विनाशको दिशामा उन्मुख गराइरहेको छ । गरिब राष्ट्रलाई उपलब्ध गराउने त्यसको ऋण वा सहयोग एक प्रकारले ती राष्ट्रलाई मृत्युको पुरस्कार नै भएको छ । कुनै राष्ट्रको कठपुतली जीवन बनाउन वा वास्तविक मृत्युको निर्णयका लागि विश्वका सम्पूर्ण क्षेत्रमा साम्राज्यवाद निर्णायक बन्न गएको छ । यसरी साम्राज्यवादको एकछत्र शासन चलिरहेको छ । त्यसले गर्दा विश्वका जनताको अवस्था धेरै नै नाजुक हुनुका साथै उनीहरूको मुक्तिको प्रश्न दुर्गम बन्न गएको छ ।

    मानवजातिका सामु उज्याला पक्ष पनि छन् । साम्राज्यवादको रजगजको अवधिमा लेनिनवाद क्रान्तिको विज्ञान बनेको छ, जसको आधारभूमिमा विश्वका मुक्तिगामी जनताको सपना जागृत भइरहेको छ । विश्वमा साम्राज्यवादका विरुद्धको आवाज शक्तिशाली बन्दै गएको छ । स्वयम् पुँजीवादीले समेत साम्राज्यवादको वितण्डामाथि प्रश्नचिह्न खडा गरेर राष्ट्रवादको पक्षमा पैरवी गर्न थालेका छन् ।

    साम्राज्यवाद अन्तत: पुँजीवादको अन्तिम चरण हो भन्ने कुरा पुँजीवादीलाई आभाष हुन थालेको छ । त्यसैले साम्राज्यवादद्वारा भएका निर्मम व्यवहारका विरुद्ध विभिन्न पुँजीवादी राष्ट्रले समेत आफूलाई उभ्याउन थालेका छन् । उनीहरूले विनाशकारी युद्ध, पर्यावरणमाथिको अतिक्रमण,, लैङ्गिक असमानता, असीमित वर्गभेद आदिको विरोध गर्न थालेका छन् ।

    यसरी अँध्यारो पक्ष हाबी भएको भए पनि उज्यालो पक्ष सँगसँगै आएको छ तर त्यो सूक्ष्म र अदृश्य अवस्थामा छ । पुँजीवादको चरम विसङ्गतिपूर्ण र असन्तुलित विस्तार भएर विभिन्न साम्राज्यवादको उदय भएको भए पनि विश्वका जनतासित त्यसको झन्झन् शत्रुता बढ्दै गएको छ । त्यसले गर्दा साम्राज्यवाद विरोधी विश्व जनमत उर्वर हुने क्रम छ र विभिन्न राष्ट्रिय क्रान्तिका आधार तयार हुँदै छन् र लेनिनवादले क्रान्तिको मार्गनिर्देशन गरिरहेको छ । साम्राज्यवादकालीन क्रान्तिको विज्ञान अर्थात् साम्राज्यवादी युगको विकल्प रहेको महान् युग लेनिनवादको सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक मार्गमा आजको कम्युनिस्ट आन्दोलनले आफूलाई समृद्ध गर्नैपर्दछ । माक्र्सवादी दर्शनमा लेनिनद्वारा भएको सिर्जनात्मक विकासको आलोकमा विश्व सर्वहारा वर्गले मुक्ति र क्रान्तिका अभिभारा पूरा गर्नुपर्ने छ र गर्नु पनि पर्दछ ।

    लेनिनद्वारा विभिन्न प्रतिक्रियावादी दर्शनको खण्डन

    बिसौँ शताब्दीको प्रारम्भमा प्रतिक्रियावादी दर्शनले माक्र्सवादी दर्शनमाथि व्यापक आक्रमण गरे । त्यो कार्य कान्टलगायतका विभिन्न अज्ञेयवादी तथा अनुभवसिद्ध आलोचनावादी दार्शनिक मतमाथि आधारित भएर अगाडि बढाइएको थियो । ती दर्शनको यति धेरै प्रभाव पर्दै गएको थियो कि स्वयम् आफूलाई माक्र्सवादी बताउने दार्शनिकले पनि माक्र्सवादको आवरणमा रहेर माक्र्सवादी दर्शनको खण्डन गर्ने असफल प्रयत्न गर्न थालेका थिए । त्यही अवधिमा लेनिनले अनुभवसिद्ध आलोचनाको प्रतिक्रियावादी दर्शनको खण्डन गरे ।

    लेनिनको भौतिकवाद र अनुभवसिद्ध आलोचना नामक दार्शनिक कृति सन् १९०९ मा प्रकाशित भएको थियो । उक्त पुस्तकमा माक्र्सवादलाई स्वीकार गरेका केही दार्शनिक शोधकर्ताहरूले अनुभवसिद्ध आलोचनाको प्रतिक्रियावादी सिद्धान्तलाई अँगालेर भौतिकवादका विरुद्ध प्रतिवेदन बनाए । त्यो समयमा बाजारोभ, बोग्दानोभ, लुनाचास्र्की, बेमर्न, हेल्फोन्ड, युस्केभिच र सुभारोभद्वारा शोध गरिएको विचारसङ्ग्रह माक्र्सवादको दर्शनको अध्ययन (१९०८), युस्केभिचको भौतिकवाद र आलोचनात्मक यथार्थवाद, बेर्मनको आधुनिक ज्ञानसिद्धान्तको प्रकाशमा द्वन्द्ववाद र भालेन्तिनोभको माक्र्सवादका दार्शनिक संरचनाहरू गरी चार पुस्तक प्रकाशित भएका थिए । ती सबै पुस्तकमा द्वन्द्वात्मक भौतिकवादमाथि आक्रमण भएको कुरा लेनिनले स्पष्ट गर्दै माक्र्सवादी दर्शनको गम्भीर समीक्षा गरे र ती मतको खण्डन गरेका थिए ।

    आफ्नो उक्त पुस्तकको पहिलो संस्करणको भूमिकामा लेनिनले भनेका छन् : म पनि दर्शनमा एउटा खोजकर्ता हुँ । उदाहरणका लागि त्यो कार्यभार जुन म आफैले यी टिप्पणीमा निर्धारण गरेको छु, यो पत्ता लगाउनु हो कि यी मानिसको लागि अवरोध पुर्‍याउने कुरा के थियो, जसले माक्र्सवादको आवरणमा अविश्वसनीय रूपले दिग्भ्रमित, अस्पष्ट र प्रतिक्रियावादी चिज प्रस्तुत गरिरहेका छन् (लेनिन, २०६९, पृ. १३) । लेनिन दर्शनमा खोजकर्ता नै थिए । त्यसैले उनले दर्शनको क्षेत्रमा पैदा गरिएका विभिन्न दिग्भ्रमलाई खण्डन गरेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई क्रान्तिको विज्ञान भएको पुष्टि गरेका थिए ।

    रुसमा माखपन्थीको प्रभाव अत्यन्त प्रबल थियो । उनीहरूले अनुभवसिद्ध आलोचनाको प्रतिक्रियावादी दर्शनलाई पक्रिएका थिए । एनस्र्ट माख अनुभवसिद्ध आलोचनाका मुख्य प्रतिनिधि थिए । त्यसैले अनुभवसिद्ध आलोचनाका समर्थकलाई त्यो बेलामा माखपन्थी भनेर पनि चिनिने गरिन्थ्यो । उनीहरूले पदार्थ र चेतनासम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई दिग्भ्रमित गरेर त्यसलाई ध्वंस गरिरहेका थिए । त्यो अवस्थामा लेनिनले दार्शनिक पक्षमा दिएको योगदानको मुख्य उपलब्धि माक्र्सवादलाई सामाजिक क्रान्तिको विज्ञानको रूपमा प्रमाणित गर्नुका साथै द्वन्द्वात्मक भौतिकवादको कार्यान्वयन र प्रतिक्रियावादी दर्शनको आलोचना हो ।

    द्वन्द्वात्मक भौतिकवादले माक्र्सवादको सम्पूर्ण क्षेत्रलाई ओग्टदथ्यो र त्यसको प्रतिक्रिया सामाजिक जीवनमा देखिनु नितान्त जरुरी थियो । माक्र्सवाद जस्तो महान् राजनीतिक तथा सामाजिक दर्शन, जुन समाजको सबैभन्दा प्रगतिशील वर्गको सामाजिक दर्शन थियो, त्यसका परिणाम नआउँदासम्म त्यो कुन प्रकारको दर्शन हो भन्ने कुरा अन्यौलपूर्ण थियो । रुसको क्रान्तिद्वारा माक्र्सवादको कार्यान्वयन हुने क्रममा त्यसको अर्थपूर्ण औचित्यता सिद्ध भयो । यसरी दर्शनको क्षेत्रमा लेनिनवाद माक्र्सवादको अभिन्न अङ्ग बन्न गयो र लेनिनवादबिना माक्र्सवाद व्यवहारमा प्रस्तुत हुन सक्दैन अर्थात् लेनिनवाद माक्र्सवादलाई कार्यान्वयन गर्ने दर्शन र राजनीतिको सशक्त हतियार हो भन्ने कुरा पुष्टि हुन गयो ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व : साम्राज्यवाद विरुद्धको हाँक

    दोस्रो इन्टरनेसनलमा कैयौँ राजनीतिक प्रश्नमा मतभेद पैदा भएका थिए । खासगरी लेनिन र काउत्स्कीबिचमा क्रान्ति, सत्ता, राज्य, माक्र्सवादको सिर्जनात्मक विकासका नाममा भएका माक्र्सवाद विरोधी गतिविधि, सर्वहारा क्रान्तिमा जनताको भूमिका, सर्वहारा क्रान्ति र अन्तर्राष्ट्रियतावाद, समाजवादी जनवाद र बुर्जुवा जनवाद, साम्राज्यवादी युद्धसम्बन्धी नीति आदि विषयमा चरम मतभेद रहेका थिए । त्यो अवस्थामा लेनिनले आफ्नो पुस्तक सर्वहारा क्रान्ति र गद्दार काउत्स्की मा तत्कालीन पश्चिमी युरोप र विशेषत: जर्मन सामाजिक–जनवादी आन्दोलन र रुसको क्रान्तिकारी अवस्थाको आन्तरिक राजनीतिक अवस्था र घटनाबारे विश्लेषण गरेर दोस्रो इन्टरनेसनलका नेताहरूको गलत विचारको आलोचना गरे (गब्रिलोभ, सन् १९८५, पृ. ६) ।

    दोस्रो इन्टरनेसनलको पतनको मुख्य कारण भने साम्राज्यवादी युद्धसम्बन्धी इन्टरनेसनलका नेताहरूले अपनाएको नीति मुख्य कारण बन्यो । प्रथम विश्वयुद्धमा जर्मनलगायतका साम्राज्यवादी देशले अपनाएको कब्जा र लुटनीतिलाई पितृभूमिको रक्षा भनेर दोस्रो इन्टरनेसनलका नेतामध्येका एक कार्ल काउत्स्कीले दलिल गरे । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता साम्राज्यवादी युद्धको समर्थकको रूपमा देखा पर्‍यो र त्यसले पतनको बाटो समायो । त्यो अवस्थामा लेनिनले दोस्रो इन्टरनेसनलका नेताहरूको, खासगरी काउत्स्कीको अन्धराष्ट्रवादी नीतिको विरोध गरे ।

    साम्राज्यवादी युद्धका विरुद्ध भएका सङ्घर्ष र आफ्नो सार्वभौमिकताको रक्षाका लागि भइरहेका प्रतिरोधलाई काउत्स्कीले पितृभूमिका विरुद्धको खतरा बताएर साम्राज्यवादी युद्धको समर्थन गरेका थिए । यसरी काउत्स्कीको अन्धराष्ट्रवादी दृष्टिकोणले दोस्रो इन्टरनेसनलाई फुटको सङ्घारमा पुर्‍यायो । लेनिनले ठिक विपरीत गरे । उनले साम्राज्यवादी युद्धको विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनमा जोड दिए ।

    साम्राज्यवादले राष्ट्रिय क्रान्तिका लागि वस्तुगत आधार बनाउँछ । त्यो क्रान्तिको परिस्थितिको एउटा पाटो हो तर क्रान्ति सम्भव हुनका लागि क्रान्तिको बाह्य र आत्मगत परिस्थिति निर्माण हुनु अनिवार्य छ अर्थात् क्रान्तिकारी परिस्थितिबिना क्रान्ति असम्भव छ यद्यपि सबै क्रान्तिकारी परिस्थिति क्रान्तिका लागि कारण बन्न सक्छन् भन्ने पनि हुँदैन तर त्यसबाट क्रान्तिलाई विजयी बनाउन प्रयत्न गर्नुपर्छ भन्ने विचार लेनिनले अगाडि सारे (लेनिन, सन् २००२, पृ. १५–१६) । त्यसरी अन्धराष्ट्रवादी प्रभावमा पर्न गएको दोस्रो इन्टरनेसनलको पतन भए पनि लेनिनवादको झन्डा फहरायो ।

    अक्टोबर क्रान्ति र सोभियत सत्ताले त्यो कुरा सिद्ध गरे कि लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक महान् नेता र शिक्षक थिए, जसको मार्गनिर्देशनमा साम्राज्यवादी युद्धविरोधी क्रान्तिका लहर विश्वव्यापी बन्न गएका थिए । ती लहर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चलिरहेका छन् र तबसम्म चलिरहने छन्, जबसम्म सर्वहारा वर्गले शान्ति र समृद्धिका लागि क्रान्ति र सङ्घर्ष गरिरहने छ ।

    सर्वहारा अधिनायकत्व : मानवजातिको पूर्ण मुक्तिको बाटो

    सर्वहारा वर्र्गको राजनीतिक सङ्गठनले क्रान्तिको कार्यदेखि राज्यसत्ता सञ्चालन गर्ने, त्यसको विकास गर्ने र त्यसलाई समृद्ध बनाउने राजनीतिक भूमिका खेल्नुपर्दछ । क्रान्तिपूर्व प्रतिक्रियावादी राज्यसत्ताअन्तर्गत र क्रान्तिको सफलतापछि नयाँ राज्यसत्तामा सर्वहारा वर्गले कसरी राजनीतिक भूमिका खेल्नुपर्दछ भन्नेबारे लेनिनले विभिन्न सन्दर्भमा विभिन्न राजनीतिक प्रश्नका उत्तर दिएका छन् । सर्वहारा वर्गको काम हो : वर्गसङ्घर्षलाई सङ्गठित गर्नु र उक्त वर्गसङ्घर्षको नेतृत्व गर्नु, जसको अन्तिम उद्देश्य सर्वहारा वर्गद्वारा राजनीतिक सत्तामाथि पूर्ण अधिकार जमाउनु र समाजवादी समाजको निर्माण गर्नु । समाजवादी क्रान्ति तथा सर्वहारा अधिनायकत्वको स्थापनालाई लेनिन पार्टीको मूल तर सुदूर लक्ष्य (अधिकतम कार्यक्रम) ठान्दथे (अलेक्सेएभ, कार्चोभ र त्रोइस्की, २०६३, पृ. ५२) ।

    सर्वहारा अधिनायकत्वसम्बन्धी माक्र्स–एङ्गेल्सले निर्माण गरेको पथलाई लेनिनले फराकिलो बनाए । मजदुर वर्गसित गुमाउनुपर्ने केही हुँदैन । त्यसैले उनीहरूका लागि क्रान्तिको मार्ग सुगम हुन्छ तर त्यसका लागि मजदुर वर्ग राजनीतिक रूपमा सचेत हुनु जरुरी छ । वर्गविभाजित समाजमा मजदुर वर्गबाहेक अन्य सबै वर्गले विद्यमान राज्यसत्ताको आर्थिक व्यवस्थालाई स्वीकार गर्ने भएकाले विद्यमान राज्यव्यवस्थालाई पूर्ण रूपमा परिवर्तन गर्न मजदुर वर्गबाहेक अरूले योग्यता राख्दैनन् भनेर लेनिनले स्पष्ट गरेका छन् । समाजको सबैभन्दा प्रगतिशील वर्ग हुनुको नाताले पनि र सामाजिक परिवर्तन गर्ने पूर्ण योग्यता राख्ने एक मात्र वर्ग भएकाले, त्यो अवस्थामा मजदुर वर्गको मुक्तिको कार्य स्वयम् मजदुर वर्गले नै पूरा गर्नुपर्दछ (माक्र्स, एङ्गेल्स र लेनिन, सन् १९८५, पृ. ९९) ।

    सर्वहारा वर्गको अधिनायकवादलाई लेनिनले स्पष्ट गरे : सर्वहारा वर्गको अधिनायकवाद धेरै नै कठिन र निर्मम युद्ध हो, जुन नयाँ वर्गले आफूभन्दा धेरै शक्तिशाली शत्रु पुँजीजीवी वर्गको विरुद्ध चलाउँछ र पराजयले गर्दा (एउटै देशमा भए पनि) यस शत्रुको प्रतिरोध दश गुना बढ्न जान्छ (लेनिन, १९८३, पृ. १२) । पुँजीजीवी वर्गको त्यसरी प्रतिरोध शक्ति बढ्नुमा अन्तर्राष्ट्रिय पुँजीजीवि वर्गसितको सम्बन्ध र लघु उत्पादनको शक्तिले भूमिका खेल्दछ भन्ने कुरा स्पष्ट छ । लघुउत्पादनले लगातार र प्रतिदिन प्रतिघण्टामा स्वेच्छानुरूप व्यापक स्तरमा पुँजीवाद र पुँजीजीवी वर्गलाई जन्माइरहेको हुन्छ (लेनिन, सन् १९८३, पृ. १२) ।

    सबै शासक वर्गले आफ्नो सत्ताको सुरक्षा गर्ने दायित्व सम्झिन्छन् । सर्वहारा वर्गले पनि आफ्नो सत्ताको रक्षा गर्ने प्रयत्न गर्दछ । सत्ताको रक्षा भनेको विरोधी वर्गमाथिको दमन हो । विरोधी वर्गलाई दमन गरेर वा काबुमा राखेर सत्तामाथि अधिकार जमाउनु वर्गीय चरित्र हो ।

    त्यस प्रकारको वर्गीय चरित्रबाट सर्वहारा वर्ग पनि अछुत हुँदैन । सधैँ पुँजीवादी वर्गको दमनको सामना गरेको सर्वहारा वर्गको वर्गीय चरित्र पुँजीवादी वर्ग विरुद्धको सम्झौताहीन सङ्घर्षको गुणले सम्पन्न हुन्छ । पुँजीवादीको सत्तामा पुँजीवादीको प्रतिस्पर्धा चल्दछ र बहुसङ्ख्यक जनतामाथि दमन गर्नका लागि सत्ता प्राप्त गर्ने दाउपेच गर्दछन् तर सर्वहारा वर्गको सत्ता सर्वहारा वर्गको अधिनायकत्वमाथि आधारित हुन्छ । त्यो अधिनायकत्व पुँजीवादी वर्ग वा अल्पसङ्ख्यक व्यक्तिमाथि लादिन्छ भने बहुसङ्ख्यक जनता वा सामाजिक प्रगतिशील वर्गको सुरक्षा र हितमा समर्पित हुन्छ । त्यसरी सर्वहारा वर्गको अधिनायकत्व पुँजीवादीको स्वेच्छाचारीमाथि दमनकारी बन्ने हुँदा उनीहरू यसका दुस्मन हुन्छन् अर्थात् पुँजीवादी वर्गले सर्वहारा वर्गको कहिल्यै पनि हित चाहँदैन । सर्वहारा वर्गले पनि आफूमाथि दमन गरी युगौँदेखि शासन चलाउँदै आएको पुँजीवादी वर्गको हित चाहन्न ।

    यसरी सर्वहारा वर्गको मुक्ति र पुँजीवादी वर्गको दमनको उद्देश्यद्वारा नै वर्गसङ्घर्षको मैदान निर्माण हुन्छ । आफ्नो प्रजातन्त्र, स्वतन्त्रता, मुक्ति र विजयका लागि सर्वहारा वर्ग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सदैव सङ्घर्षशील भइरहन्छ । उसले बुर्जुवा सत्ता र आफ्नो सत्ताका बिच कतै पनि मेल देख्दैन अर्थात् बाघ र बाख्राको सम्बन्ध जस्तो बुर्जुवा र सर्वहारा वर्गबिचको सम्बन्ध कायम रहेको कुरा स्पष्ट छ ।

    लेनिनले सोभियत सत्ता सर्वहारा वर्गको हितको साधन भएको कुरा स्पष्ट गरेका छन् । समग्रमा एकातिर, बुर्जुवा वर्गको अधिनायकत्व तथा संसदीय पद्धति र अर्कातिर सोभियत अथवा सर्वहाराको अधिनायकत्वमा यो अन्तर छ कि पहिलोले विभिन्न स्वाधीनता र अधिकारको खोक्रो र भड्किला कुरा गरेर आफूमा शक्ति केन्द्रित गर्दछ, जसलाई बहुसङ्ख्यक जनता मजदुर र किसान वर्गले पूर्ण रूपमा उपभोग गर्न पाउँदैनन् तर अर्कातिर, यसको विपरीत सोभियत अथवा सर्वहारा अधिनायकवादले सम्पूर्ण जनताको अधिकार र स्वाधीनताको घोषणा मात्र गर्ने होइन बरु व्यवहारमा नै ती मिहिनेतकश जनताको, जो पुँजीवादी वर्गद्वारा निर्मम रूपमा उत्पीडित र शोषित थिए, तिनीहरूलाई सत्ता सञ्चालनको वास्तविक प्रतिनिधित्व गर्ने अधिकारी तथा हक उपभोग गर्ने बनाउनु सोभियत सत्ताको उद्देश्य हुन्छ । शोषित तथा मिहिनेतकश जनताको व्यावहारिक जीवनमा नै शिक्षा, संस्कृति, सभ्यता र उनीहरूको जनतान्त्रिक अधिकारको उचित लाभ उपलब्ध गराउनुमा नै सोभियत सत्ताको सबैभन्दा ठुलो उद्देश्य अन्तर्निहित रहेको छ, जसलाई भविष्यमा पनि अविचलित रूपमा जारी राखिरहनु जरुरी छ (माक्र्स, एङ्गेल्स र लेनिन, सन् १९८५, पृ. २५४) ।

    यसको अर्थपूर्ण तात्पर्य यो हो : सोभियत सत्ता जारी रहनु भनेको पुँजीवादी वर्गमाथि दमन गरिरहनुपर्दछ र सर्वहारा वर्गको हितमा सदैव लगनशील भइरहनुपर्छ भन्ने हो । सोभियत सत्तामा त्यही कुरा अन्तर्निहित थियो, जहाँ सर्वहारा वर्गको अधिनायकत्वमा पुँजीवादी वर्गमाथि दमन भएको कुनै लुकेको कुरा होइन ।

    सर्वहारा वर्गले आफ्नो सत्ताको रक्षाको विषयलाई महत्त्वपूर्ण जिम्मेवारीको रूपमा बुझ्नुपर्ने बताएका छन् । उनले पुराना संशोधनवादी विरुद्धको सङ्घर्षको सन्दर्भमा समाजवादी कालभरि माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गरे । साम्राज्यवादको गहन अध्ययनपश्चात् पुरानो पुँजीवादमा भन्दा बढी एकाधिकार पुँजीवादी चरणमा क्रान्ति जारी राख्ने आवश्यकतामा जोड दिए ।

    लेनिनका अनुसार समाजवादअन्तर्गत १. सत्ताच्यूत शोषक वर्गले हमेशा आफ्नो गुमेको स्वर्ग पुन: प्राप्त गर्न हजारौँपटक प्रयत्न गर्दछ । २. सानो पैमानाको उत्पादनको परिस्थितिले लगातार नयाँ पुँजीवादी तत्त्वलाई जन्माउँछ । ३. पुँजीवादी प्रभाव र निम्न पुँजीवादी स्थितिको अस्तित्वले लगातार नयाँ बुर्जुवाको सृष्टि तथा श्रमिक वर्ग, सरकार र कम्युनिस्ट पार्टीमा पनि राजनीतिक पतन जन्माउँछ । ४. साम्राज्यवादले लगातार सैनिक हस्तक्षेप वा शान्तिपूर्ण साधनद्वारा समाजवादी देशको सामाजिक परिपाटीको विघटन गराउन प्रयत्न गर्दछ । यो आन्तरिक र अन्तर्राष्ट्रिय स्थितिले समाजवादको देशभित्र समाजवादको सिङ्गो कालभरि वर्गसङ्घर्र्षको निरन्तरताको आवश्यकता हुन्छ । यसको अभावमा समाजवाद रहन र साम्यवादतिर बढ्न सक्दैन (सिंह, २०५८, पृ. २२४) ।

    लेनिनले राष्ट्रिय नीति र सर्वहारा अन्तर्राष्ट्रियवादको प्रश्नबारे पनि विचार गरेका छन् । सर्वहारा अधिनायकत्व पुँजीवादी सत्ता जस्तो असभ्य र बर्बर हुँदैन । सर्वहारा अधिनायकत्वको आफ्नो राष्ट्रिय नीति हुन्छ । उक्त राष्ट्रिय नीति विभिन्न जातजाति, समुदाय, क्षेत्र, संस्कृति, भाषा, स्वायत्त अधिकार, आत्मनिर्णयको अधिकार, शिक्षा, विकास योजना आदिबारे ठोस, न्यायपूर्ण र राष्ट्रिय हितमा समर्पित हुन्छ । लेनिनले सामाजिक अन्धवाद र जातिवादका साथै ती विषयप्रति बुर्जुवा र अवसरवादी धारणाको आलोचना गरेका छन् । सामाजिक अन्धवादले सामाजिक सद्भाव खल्बल्याउनुको साथै मुलुकमा विखण्डनको स्थिति निम्त्याउन सक्ने कुरामा उनी पूरा सतर्क रहेका छन् । त्यसैले राष्ट्रिय नीतिमा जातिवाद र इलाकावादलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ । त्यसका साथै भाषा तथा संस्कृतिसम्बन्धी पनि लेनिनले राष्ट्रिय नीति ठोस हुनुपर्नेमा जोड दिएका छन् (लेनिन, सन् १९८६, पृ. २०–४०) ।

    जाति, भाषा, धर्म, विकास, संस्कृति, शिक्षा आदि विभिन्न विषयमा अपनाइने दृष्टिकोण लेनिनवादबाट निर्देशित हुनुपर्दछ । सर्वहारा अन्तर्राष्ट्रियतावादमा साम्राज्यवाद विरुद्ध ऐक्यबद्धता, राष्ट्रिय मुक्ति आन्दोलनलाई समर्थन आदिबारे लेनिनले सर्वहारावर्गीय दृष्टिकोण प्रस्तुत गरेका छन् । विश्वमा चल्ने विभिन्न मुक्ति आन्दोलनप्रति समर्थन भए पनि सम्बन्धित देशको मुक्ति आन्दोलनको नेतृत्व गरी त्यसलाई विजयमा टुङ्ग्याउनका लागि सम्बन्धित देशका जनता निर्णायक हुन्छन् । साम्राज्यवाद उत्पीडित राष्ट्र र विश्वका जनताको दुस्मन भएकाले त्यसका विरुद्ध मोर्चाबद्ध भएर सङ्घर्ष गर्नुपर्नेमा र उक्त सङ्घर्षलाई सक्दो राष्ट्रिय क्रान्तिमा बदल्न प्रयत्न गर्नुपर्ने उनको जोड रहेको छ । लेनिनले अन्धराष्ट्रवादको विरोध गरेर साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने जोड दिए र त्यस सन्दर्भमा दोस्रो इन्टरनेसनलका नेता काउत्स्कीको अन्धराष्ट्रवादी नीतिको आलोचना गर्नुको साथै उक्त नीतिलाई साम्राज्यवादको सहयोगी भनी त्यसको भण्डाफोर गरेर सर्वहारा अन्तर्राष्ट्रियतावादमा जोड दिए (लेनिन, सन् १९८६, पृ. १६५्) ।

    राज्य र क्रान्तिसम्बन्धी माक्र्सवादी धारणाको कार्यान्वयन

    लेनिनको राज्य र क्रान्ति नामक पुस्तक सैद्धान्तिक र राजनीतिक दुबै रूपमा महत्त्वपूर्ण छ । लेखकले यस पुस्तकको पहिलो संंस्करणको भूमिकामा यसको लेखनकालको मिति अगस्त १९१७ भनेर उल्लेख गरेका छन् । त्यसरी त्यो किताब अक्टोबर क्रान्तिको एक डेढ महिना पूर्व लेखिएको थियो यद्यपि प्रकाशित भने सन् १९१८ मा भएको थियो । उक्त पुस्तकमा राज्यसम्बन्धी माक्र्सवादी सिद्धान्तलाई लेनिनले विस्तारपूर्वक निरूपण गर्नुका साथै ठोस र मूर्त गरेर समृद्ध बनाएका छन् । उक्त पुस्तकमा माक्र्स र एङ्गेल्सको राज्यसम्बन्धीको दृष्टिकोणको समीक्षा गरी त्यो बेलामा राज्यसम्बन्धी पैदा भएका विभिन्न अवसरवादी दृष्टिकोणबारे गौरपूर्वक तिनको चिरफार गरिएको छ । राज्यसम्बन्धी माक्र्सवादी धारणालाई आधार बनाएर दोस्रो इन्टरनेसनलका नेता कार्ल काउत्स्कीको अन्धराष्ट्रवादी नीति “पितृभूमिको रक्षा” को भण्डाफोर गरिएको छ (लेनिन, सन् १९८९, पृ. ६) ।

    माक्र्सवादी दृष्टिकोणअनुसार १. राज्यविरोधी वर्गको उपज, २. हतियारबन्द मानिसको विशेष दल र जेल ३. उत्पीडित वर्गको शोषण गर्ने साधन हो (लेनिन, सन् १९८९, पृ. ८–१८) । लेनिनले यी सबै पक्षमाथि विस्तृत र गौरवपूर्ण समीक्षा गर्दै सुझाव दिएका छन् : मैले तपाईंलाई मदतको लागि एङ्गेल्सको पुस्तक परिवार, व्यक्तिगत सम्पत्ति र राज्यसत्ताको उत्पत्ति पढ्न सल्लाह दिन्छु । यो पुस्तकले हरेक राज्य जसमा जमिन र उत्पादनका साधनमाथि व्यक्तिगत प्रभुत्व रहन्छ, जसमा पुँजीले नियन्त्रण गर्दछ । जतिसुकै जनतान्त्रिक भए पनि पुँजीवादी राजसत्ता हो, पुँजीपतिले श्रमजीवी वर्ग र गरिब किसानलाई आफ्नो अधीन राख्न प्रयोग गरिएको यन्त्र हो, जबकि वस्यक मताधिकार, विधानसभा, संसद् खाली देखावटी रूप र तमसुक मात्र हुन्, जसले वस्तुको गुह्यलाई बदल्दैन भन्ने कुरा बताउँछ (लेनिन, २०४८, पृ. २१) ।

    यदि पुँजीवादी राज्यसत्ता पुँजीपतिले श्रमजीवी वर्ग र गरिब किसानलाई दमनमा राख्ने साधन हुन सक्दछ भने आफ्नो मुक्तिप्राप्त गर्न पुँजीवादी राज्यसत्तालाई श्रमजीवी र गरिब किसान वर्गले उन्मूलन गर्न सक्दछन् र उनीहरूले त्यसलाई पुँजीपति वर्गलाई दबाउने आफ्नो राजनीतिक साधन बनाउन सक्दछन् भन्ने माक्र्सवादी निष्कर्षलाई लेनिनले व्यवहारमा परिणत गराउने काम गरे ।
    अक्टोबर क्रान्ति त्यसको महान् साक्षी थियो, जसको सफलताले पुँजीवादी जगत्मा सधैँका लागि आहत पैदा गरिदिएको थियो ।

    राज्यसत्ता प्राप्तिका लागि भीषण सङ्घर्र्ष र क्रान्तिको कार्य सम्पन्न गरी राज्यलाई समृद्ध गरेर त्यसको अस्तित्व समाप्त गर्ने जिम्मेवारी सर्वहारा वर्गको हो भन्ने तथ्यलाई लेनिनले ठोस र मूर्त गरेर व्यावहारिक रूप दिए । राज्यको विलोप हुनु अनिवार्य छ यद्यपि राज्यको अर्थपूर्ण अस्तित्वलाई सर्वहारा वर्गले पुष्टि गर्नुपर्दछ । त्यसकारणले पनि सर्वहारा वर्गले आफ्नो हातमा सत्ता लिनका लागि क्रान्तिको अभिभारा पूरा गर्नुपर्दछ ।

    काम गर्ने तरिकाको व्यवस्थित र वैज्ञानिक पद्धतिको सिद्धान्त निर्माण

    लेनिनले कम्युनिस्ट पार्टीले काम गर्ने तरिकाको व्यवस्थित र वैज्ञानिक पद्धतिको सिद्धान्त निर्माण गरे । कम्युनिस्ट पार्टीले काम कसरी गर्नुपर्छ र सिद्धान्त र व्यवहारको तालमेल कसरी कायम गर्न सकिन्छ भन्ने कुरालाई बुझ्ने र सोहीअनुसार व्यवहार गर्ने पद्धतिलाई लेनिनले कार्यनीतिक र रणनीतिक प्रश्नमाथिको विचारद्वारा हल दिएका छन् ।

    एक विज्ञानको रूपमा रणनीति सामाजिक राजनीतिक विकासका नियममा आधारित हुन्छ । रणनीति त्यस सिद्धान्तबाट पृथक् हुन सक्दैन, जसले यी नियमलाई प्रतिबिम्बित गर्दछ र जुन वास्तविकताको विश्लेषण गर्न विधि बनेको हुन्छ । कार्यनीति रणनीतिको एक हिस्सा हो; यो रणनीतिको अधीनमा हुन्छ† रणनीति सफल तुल्याउन सहायक हुन्छ र रणनीतिसँग अभिन्न रूपमा सम्बन्धित हुन्छ । कार्यनीतिले क्रान्तिकारी प्रक्रियाको विकासको निश्चित अवधिमा सङ्घर्षको बाटो र तरिका निर्धारित गर्दछ । यसले प्रमुख दिशामा सम्पूर्ण शक्ति लगाउन मदत गर्दछ । रणनीति र कार्यनीति नै राजनीतिक पार्टीको नीतिका सार हुन्, तिनले राजनीतिक व्यवहारका सिद्धान्त, मजदुर वर्गका अन्तिम लक्ष्य प्राप्त गर्ने तरिका, मार्ग तथा साधन, वर्गसङ्घर्षको नेतृत्वका नियम निर्धारित गर्दछन् । एक कलाको रूपमा रणनीति र कार्यनीतिको लागि अनुभव तथा राजनीतिक कार्यलाई सफल तुल्याउने कुशलता एवम् प्रतिभा आवश्यक हुन्छ (लुस, सन् १९८८, पृ. ५३–५४) ।

    उपर्युक्त तथ्यबाट स्पष्ट छ कि रणनीति र कार्यनीति काम गर्ने तरिकाका व्यवस्थित र वैज्ञानिक पद्धति हुन्, जसलाई लेनिनले सिद्धान्तको रूपमा विकास गरेका छन् ।

    क्रान्तिको लक्ष्य पूरा गर्नका लागि कम्युनिस्ट पार्टीले शान्तिपूर्ण आन्दोलन, वैधानिक गतिविधि, सभा, जुलुस, विभिन्न सुधारका आन्दोलनका महत्त्वलाई गम्भीरताका साथ लिनुपर्छ भन्ने मान्यता लेनिनवादले मार्गनिर्देशन गरेको अर्को महत्त्वपूर्ण राजनीतिक पक्ष हो । कम्युनिस्ट पार्टीले भद्रगोल भएर गतिविधि गर्न थाल्यो भने त्यसले लक्ष्य प्राप्त गर्नु त परै छ, त्यसको अस्तित्वसमेत कायम रहन सक्दैन ।

    लेनिनले रणनीतिक र कार्यनीतिक विषयबारे ठोस विश्लेषण गरी रणनीतिलाई सिङ्गै उद्देश्य प्राप्तिको दीर्घकालीन राजनीतिक लक्ष्य र कार्यनीतिलाई तत्कालीन राजनीतिक आवश्यकताका आधारमा अपनाइने तत्कालीन लक्ष्यको राजनीतिक नीति भएको बताएका छन् । लेनिनको कार्यनीति र रणनीतिलाई सही र ठोस कार्यान्वयन गर्न नसक्ने कम्युनिस्ट नामका कैयौँ सङ्गठन विभिन्न भड्कावका दलदलमा फस्न पुगेका उदाहरण बग्रेल्ती पाइन्छन् ।

    लेनिनले बुर्जुवा संसद्, बुर्जुवा राज्यअन्तर्गतका विभिन्न ट्रेड युनियन, सहकारी संस्था, विभिन्न वैधानिक आन्दोलन आदिको महत्त्वलाई स्पष्ट गरेका छन् । संसदवादी बन्नु, ट्र्ेड युनियनवादको दलदलमा भासिनु, वैधानिक आन्दोलनलाई दीर्घकालीन उद्देश्यको सेवाको रूपमा नबुझ्नु आदिलाई लेनिनले सही मानेका छैनन् । आवश्यकताअनुसार बुर्जुवा संसद्को उपयोग गर्नु, विभिन्न चुनावमा भाग लिनु, ट्रेड युनियनमा काम गर्नुपर्ने आवश्यकतामाथि लेनिनले जोड दिएका छन् । त्यो सन्दर्भमा उनले रणनीतिक र कार्यनीतिक उद्देश्य र कार्यको भिन्नतालाई स्पष्ट गर्दै त्यसबारे सुन्दर र व्यावहारिक हल दिएका छन् ।

    लेनिनको उक्त पथप्रर्दशनमा स्टालिनले कार्यनीति र रणनीतिलाई सन्तुलित गरेर सोभियत सत्तालाई विजयी बनाए । लेनिनको शिक्षाबाट दीक्षित भएर स्टालिनले कार्यनीति र रणनीतिको प्रश्नलाई थप समृद्ध गरेका छन् : कार्यनीति रणनीतिको अंश हो† त्यसैको मातहतमा हुन्छ र त्यसैको सेवा गर्दछ । कार्यनीतिको सिङ्गै युद्धसँग सम्बन्ध हुँदैन तर कुनै खास घटना, लडाइँ तथा मुठभेडसँग सम्बन्ध हुन्छ । रणनीतिको उद्देश्य युद्ध जित्नु हो अथवा भनौँ कि जारशाहीको विरुद्ध अन्त्यसम्म सङ्घर्ष गर्नु हो । यसको विपरीत कार्यनीतिको उद्देश्य खास मुठभेड तथा लडाइँ जित्नु हो; खास अभियान या कारवाही सफलतापूर्वक सञ्चालन गर्नु हो, जुन कुरा खास कालको सङ्घर्षका ठोस परिस्थितिसँग लगभग मिल्दाजुल्दा हुन्छन् (स्टालिन, २०६४, पृ. ९) ।

    सङ्गठनसम्बन्धी महान सिद्धान्त प्रतिपादन

    वर्गसङ्घर्षको मैदानमा शत्रुलाई परास्त गर्नका लागि आफूलाई सक्षम बनाउन सर्वहारा वर्गको राजनीतिक सङ्गठनले आफ्नो भौतिक संरचनाको बुनोट गर्ने शैली र पद्धति सङ्गठनात्मक पक्ष हो । सङ्गठनको क्षेत्रमा लेनिनले सर्वप्रथम वैज्ञानिक संरचनाको शैली र पद्धतिको सिद्धान्त प्रतिपादन गरे, जसले कम्युनिस्ट पार्टीलाई वैज्ञानिक रूपमा प्रस्तुत गरायो । सङ्गठनको विषयलाई लिएर लेनिनको समकक्षी मार्तोभसँग विवाद भएको थियो । त्यो विवादका कारणले उनीहरूका बिचमा फुट पनि भयो । बुर्जुवाको जस्तै भद्रगोल सङ्गठन भए हुन्छ भन्ने धारणालाई लेनिनले स्वीकार गरेनन् । जिम्मेवारी र दायित्वसहितको नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिएका लेनिनले कम्युनिस्ट पार्टीका सबै सदस्य नेतृत्वकारी भूमिकामा रहनुपर्ने बताए ।

    कम्युनिस्ट उद्देश्यअनुसार राज्यसत्ता आर्जन गर्ने हो भने त्यसअनुसारको दर्शन र राजनीतिले मात्र नपुग्ने रहेछ, उक्त दर्शन र राजनीतिलाई कार्यान्वयन गर्ने त्यसअनुसारको एउटा सुदृढ राजनीतिक सङ्गठन पनि चाहिँदो रहेछ । त्यस प्रकारको सुदृढ सङ्गठन कसरी बन्न सक्दछ र किन बनाउनुपर्दछ भन्ने समस्याको निरूपण नै लेनिनवादी सङ्गठनात्मक प्रणाली हो । लेनिनवादी सङ्गठनात्मक प्रणालीले अलग अलग रहेका सङ्गठनका विभिन्न अवयव; जस्तै कि सिद्धान्त, राजनीति, अनुशासन, दायित्व, जिम्मेवारी, नेतृत्व, सङ्गठनका सदस्य, समर्थक र शुभेच्छुक जनतालाई आपसमा जोडेर एउटा सुदृढ सङ्गठनको रूपमा प्रस्तुत गर्दछ । यसले यो पनि स्पष्ट गर्दछ कि व्यवस्थित र सङ्गठित प्रकारले मात्र क्रान्तिको अभिभारा पूरा गर्न सम्भव हुन्छ ।

    कम्युनिस्ट पार्टीको पहिलो र सबैभन्दा महत्त्वपूर्ण लक्षण हो– यो पार्टी समाजवादी क्रान्ति सम्पन्न गर्ने पार्टी हो । यो पार्टीले शोषक वर्गको सत्तालाई जबरजस्त र बलपूर्वक हटाउन चाहन्छ किनभने यसले शोषक वर्गको चरित्रलाई राम्रोसँग ठम्याउन सक्दछ । बलपूर्वक यसकारण सत्ता पल्टाउनुपर्दछ कि शोषक वर्गले आफ्नो स्वर्ग सदैव कायम राख्न चाहन्छ । दोस्रो कुरा हो– जो त्यत्तिकै महत्त्वपूर्ण छ, कम्युनिस्ट पार्टी क्रान्तिको दायित्व पूरा गर्ने राजनीतिक शक्ति भएकाले क्रान्तिकारी सिद्धान्तमाथि यसको सम्पूर्ण आधार टिकेको हुनुपर्दछ । यो मान्यताले अवसरवादी सङ्गठन र कम्युनिस्ट पार्टीलाई भिन्न भिन्न धारमा पुर्‍याउँछ, जसको परिणामस्वरूप सर्वहारा अधिनायकवाद र सर्वहारा अन्तर्राष्ट्रियतावाद क्रान्तिकारी कम्युनिस्ट पार्टीको ध्येय बन्न जान्छ (बोल्कोवलगायत, सन् १९८५, पृ. १२३–१२६) ।

    लेनिनले प्रतिपादन गरेको सङ्गठनसम्बन्धी सिद्धान्तले कम्युनिस्ट पार्टी र बुर्जुवा पार्टीको बिचमा अन्तर गरिदियो । त्यसरी अन्तर हुँदा कम्युनिस्ट पार्टी बुर्जुवा पार्टीको भन्दा गुणात्मक फरक भएको विशेष शक्ति बन्न गयो । लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई पछ्याएर विश्वमा अनेकानेक कम्युनिस्ट सङ्गठनले आफूभन्दा कैयौँ गुणा ठुलो शक्तिलाई परास्त गरेर आफूलाई विजयी बनाए । स्टालिन कालभरि सोभियत कम्युनिस्ट पार्टी लेनिनवादी ढाँचामा अटल भइरह्यो र सोभियत सत्ता पनि अविजित रहिरह्यो ।

    आजको युगमा लेनिनवादी सङ्गठनात्मक ढाँचा झन् अनिवार्य भएको छ । लेनिनवादी सङ्गठनात्मक पद्धति नभएका कुनै कम्युनिस्ट नामक सङ्गठन छन् भने ती सबै भ्रम हुन्, तिनीहरूले कम्युनिस्ट दर्शन र राजनीतिको कहिल्यै पनि कार्यान्वयन गर्न सक्दैनन् । कम्युनिस्ट दर्शन र राजनीतिको कार्यान्वयन गर्ने वास्तविक साधन लेनिनवादी सङ्गठनात्मक पद्धतिमा निर्मित पार्टी मात्र हो ।

    स्टालिनकालीन सोभियत सत्ता, माओकालीन चीन, होचि मिन्हकालीन भियतनाम, फिडेल क्यास्त्रोकालीन क्युबा, किमइल सुङकालीन उत्तर कोरिया र पूर्वी युरोपमा समाजवादी लहर उठेको बेला निर्माण भएका विभिन्न समाजवादी व्यवस्थाद्वारा आर्जित कम्युनिस्ट र समाजवादप्रतिको लोकप्रियताको ढाडमा टेकेर तर मार्न पल्केको अवसरवादले निश्चय पनि विभिन्न कम्युनिस्ट नामक सङ्गठनका माध्यमबाट चलखेल गरिरहेको छ तर अवसरवादीले पुँजीवादसित सहअस्तित्व कायम गरेर सरकार र सत्ताका लागि दाउपेच गरिरहेका छन् । उनीहरूले समाजवाद र साम्यवादको त के कुरा, असली सुधारवादलाई समेत कार्यान्वयन गर्न सक्दैनन् ।

    यसर्थ उनीहरूले कम्युनिस्टप्रतिको जनाकर्षणलाई दुरूपयोग गरेर पुँजीवादसित सहकार्य गरिरहेका छन् र क्रान्तिलाई दुर्गम बनाइरहेका छन् । उनीहरूको सङ्गठनको अवस्था बुर्जुवा सङ्गठन जस्तो भद्रगोल छ तर बुर्जुवा र अवसरवादी सङ्गठनभन्दा भिन्न हुने गरी लेनिनले सङ्गठनात्मक सिद्धान्तको प्रतिपादन गरे । सर्वहारा वर्गको उद्देश्यलाई सफल तुल्याउनका लागि प्रयोगमा आउने हतियारलाई धारिलो बनाउनका लागि लेनिनले प्रतिपादन गरेको कालजयी सङ्गठनात्मक सिद्धान्तलाई आफ्नो जीवनशैलीमा नढालेर क्रान्तिको कुरा गर्नु हास्यास्पद हुन्छ । त्यस प्रकारको हास्यास्पद कार्य एउटा असल कम्युनिस्ट पार्टीले कहिल्यै गर्न सक्दैन र गर्नु पनि हुँदैन ।

    आजको चरम साम्राज्यवादको बेलामा लेनिनवादी सङ्गठनात्मक प्रणालीमा आधारित कम्युनिस्ट पार्टीको विकास गर्ने कुरा चुनौतिपूर्ण बन्न गएको छ तर सत्य यो हो कि मानवजातिको मुक्तिको लागि चल्ने क्रान्तिको नेतृत्व गर्ने काम लेनिनवादी सङ्गठनात्मक प्रणालीमा निर्मित कम्युनिस्ट पार्टीले मात्र सम्पन्न गर्न सक्दछ । आजको युगको कम्युनिस्ट आन्दोलनमा सङ्गठनको स्वरूपमा व्यवहृत हुने प्रक्रिया र पद्धतिको सिद्धान्त र व्यवहार लेनिनवादी सङ्गठनात्मक सिद्धान्त हो । विश्व कम्युनिस्ट आन्दोलनले यो कुरा किमार्थ बिर्सन मिल्दैन ।

    लेनिनवादलाई गिराउने प्रयत्न विरुद्ध सङ्घर्ष

    बिसौँ शताब्दीको अन्त्यतिर विश्व कम्युनिस्ट आन्दोलनमा माओ विचारधारा वा माओवादको विषयलाई लिएर रिममा सहकार्य गरिरहेका विभिन्न कम्युनिस्ट सङ्गठनबिच गम्भीर विवाद भयो । उक्त विवादमा माओ विचारधारा वा माओवाद भन्नेभन्दा पनि लेनिनवाद वा माओवाद भन्ने प्रश्न कठोर बन्न गएको थियो । लेनिनवादको सोझै विरोध गरेरभन्दा पनि आजको युगको रूपमा माओवाद शब्दावलीलाई खडा गरेर लेनिनवादलाई गिराउने प्रयत्न गरिएको थियो । रिममा माओवादको आवरणमा ट्राटस्कीवादको प्रभाव बढेर माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराको मान्यतामाथि गम्भीर भड्काव आउन थाल्यो । आरसिपी अमेरिकाको ट्राटस्कीवादी सोचाइको प्रभावमा परेर रिममा सहभागी धेरै सङ्गठनको त्यसतर्फ पलायन हुँदै भयो । त्यो अवस्थामा रिमको एउटा सदस्य नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले माओ विचारधाराको पक्षमा आफ्नो दृढ अडान लियो र आरसिपी अमेरिकाका गलत सोचाइका विरुद्ध सम्झौताहीन वैचारिक सङ्घर्ष गर्‍यो । त्यस प्रकारको अडान लिने क्रममा त्यसले विभिन्न तथ्य अगाडि सारेर माओ विचारधाराको औचित्यतालाई पुष्टि गर्दै आजको युगलाई लेनिनवादी युगको रूपमा व्याख्या गर्‍यो ।

    रिमभित्र ट्राटस्कीवादका विरुद्ध नेकपा (मसाल) ले गरेको सङ्घर्षको ऐतिहासिक महत्त्व रहेको छ । अक्टोबर २४, १९९६ मा मसालको केन्द्रीय समितिको बैठकले रिमभित्र ट्राटस्कीवादका विरुद्ध मसालको सङ्घर्र्ष नामक प्रस्ताव पारित गर्‍यो र त्यो प्रस्ताव प्रकाशित भएर सार्वजनिक भएको थियो । उक्त प्रस्तावमा रिममा लेनिनवादलाई गिराउने क्रमको तीव्र आलोचना गरिएको छ : रिमको कमिटीले रिमका सबै दस्तावेज र पोस्टरबाट एङ्गेल्स र स्टालिनका तस्बिर झिकेर तिनका टाउका हटाइदिएको छ । एङ्गेल्स र स्टालिनपछि अब उनीहरूले लेनिनलाई तल गिराउने र माओत्सेतुङको क्रान्तिकारी सारतत्त्वलाई नष्ट पार्ने प्रयत्न गर्दै छन् यद्यपि यो कार्य उनीहरूले माक्र्स, लेनिन र माओको झन्डालाई माथि उठाउने नाममा गरिरहेका छन् तर हामीलाई पूर्ण विश्वास छ कि इतिहासले यस प्रकारको गैरमाक्र्सवादी–लेनिनवादी लाइनलाई सधैँ हरियो झन्डा देखाउने छैन (सिंह, २०५८, पृ. ५०३) ।

    रिम, खासगरी आरसिपी अमेरिकाले माओवादको प्रतिस्थापनको नाममा लेनिनवादको औचित्यतालाई समाप्त गर्न खोजेको थियो तर त्यो माओवादको आवरणमा ट्राटस्कीवाद थियो, जसको अन्त हुने कुरा निश्चित थियो तैपनि त्यो कुरा रिमको कमिटीले नजरअन्दाज गरिरहेको थियो । त्यसरी लेनिनवादलाई गिराउने प्रयत्नका विरुद्ध सङ्घर्ष गर्दै आजको साम्राज्यवादी युगलाई ध्वंस गर्ने एक मात्र शक्तिशाली हतियार लेनिनवादको आधारभूमिमा नेकपा (मसाल) ले दृढतापूर्वक पाइला राखिरहेको छ ।

    आजको माक्र्सवाद : लेनिनवाद

    लेनिनवाद आजको युगको माक्र्सवाद हो । सर्वहारा क्रान्तिलाई विजयको शिखरमा पुर्‍याउन सर्वहारा वर्गलाई लेनिनवादले मार्गनिर्देशन गर्दछ । हरेक राजनीतिक वस्तुस्थितिको ठोस विश्लेषण गरी कार्यनीतिबारे सही नीति अपनाउनका लागि पनि लेनिनवादले मार्गनिर्देशन गर्दछ । आफ्नो समयमा सही कार्यदिशा अपनाएका कारणले बोल्सेभिकले आन्दोलनभित्र आएका सबै भड्कावमाथि विजय हासिल गरेर आफूलाई क्रान्तिको योग्य बनाउन सफल भएका थिए । साम्राज्यवादको चरम अवस्थालाई लेनिनले विहङ्गम व्याख्या गरेर त्यसका विरुद्धको सङ्घर्षको चरित्रलाई निर्धारण गरे । लेनिनवादले माक्र्सवादलाई कार्यान्वयनमा लैजाँदा क्रान्तिको चरित्र निर्धारण गरेको थियो र सर्वहारा वर्गको विजयको नक्सा मात्र कोरेन, अपितु क्रान्तिको सफलतालाई वस्तुगत धरातलमा उतारिदिएको थियो । साम्राज्यवाद कालमा क्रान्तिको चरित्रलाई लेनिनवादले मार्गनिर्देशन गर्ने कुरा निश्चित भयो ।

    लेनिनवाद निर्माणका लागि लेनिन र रुसको सर्वहारा वर्गको अद्वितीय योगदान रहेको थियो । लेनिनलाई अमर र लेनिनवादलाई अजेय बनाउनका लागि अक्टोबर क्रान्ति र त्यसले स्थापना गरेको समाजवादी मूल्य सर्वश्रेष्ठ रहेका छन् भने ती सर्वश्रेष्ठ मूल्य आर्जन गर्ने लेनिन र रुसको सर्वहारा वर्ग अमर छ । लेनिन विश्व सर्वहारा वर्गका महान नेतृत्व र गुरु हुन् । उनले प्रतिपादन गरेको क्रान्तिको सिद्धान्तलाई आधार बनाएर रुसी सर्वहारा वर्गले क्रान्तिलाई व्यवहारद्वारा सिद्ध गर्‍यो । समाजवाद र क्रान्तिको गौरवशाली युग लेनिनवादलाई कार्यान्वयन गर्ने विश्व सर्वहारा वर्ग लेनिनवादको महान् उत्तराधिकारी भएको कुरा अकाट्य र स्वयम्सिद्ध छ ।

    निष्कर्ष

    लेनिनवाद आजको युगको माक्र्सवाद हो । लेनिनद्वारा प्रतिपादित गरिएका क्रान्तिको दर्शन, सिद्धान्त र राजनीति विश्व सर्वहारा वर्गले आत्मसात् गर्ने आधुनिक युगको महान सामाजिक दर्शन हो । लेनिनले दर्शनको क्षेत्रमा विभिन्न प्रतिक्रियावादी दर्शनको खण्डन गरेर द्वन्द्वात्मक भौतिकवादको रक्षा गर्नुको साथै त्यसलाई कार्यान्वयन गरे । साम्राज्यवादको चरित्रको निरूपण गरेर क्रान्तिको परिस्थितिबारे ठोस विश्लेष गर्नु, सर्वहारा वर्गको अधिनायकत्वका आधार प्रदान गर्नु, राज्य र क्रान्ति सम्बन्धीको धारणालाई ठोस र मूर्तिकरण गर्नु आदि लेनिनद्वारा सैद्धान्तिक तथा राजनीतिक क्षेत्रमा दिइएका उच्च योगदान हुन् ।

    कम्युनिस्ट पार्टीलाई वैज्ञानिक र व्यवस्थित पार्टीको रूपमा प्रस्तुत गराउन लेनिनले निर्माण गरेको सङ्गठनात्मक प्रणालीको सिद्धान्त विश्व कम्युनिस्ट आन्दोलनको सङ्गठनको क्षेत्रमा भएको अतुलनीय योगदान हो । काम गर्ने ढाँचाको दृष्टिकोणीय सिद्धान्तको रूपमा कम्युनिस्ट पार्टीले सबै अवस्था र परिस्थितिमा तब मात्र काम गर्न सक्दछ, जब त्यसले कार्यनीति र रणनीतिलाई सही ढङ्गले कार्यान्वयन गर्न सक्दछ भन्ने सैद्धान्तिक मान्यतालाई लेनिनले ठोस गरेका छन् ।

    आजको युगको चरित्रलाई नजरअन्दाज गरेर लेनिनवादलाई गिराउने प्रयत्न पनि भएका छन् तर ती प्रयत्नका विरुद्ध सङ्घर्ष पनि चल्दै आएका छन् । लेनिनवादलाई स्थापना गर्ने कार्यमा रुसको सर्वहारा वर्गको महान् योगदान रहेको छ भने लेनिनवादी दर्शनको आधारभूमिमा क्रान्ति सम्पन्न गर्ने ध्येयका साथ विश्व सर्वहारा वर्ग क्रियाशील भइरहेको छ । लेनिनवाद अजेय छ र आफ्नो मुक्तिको लागि विश्वका सर्वहारा वर्ग एकजुट छन् ।

    सन्दर्भ सामग्री

    अलेक्सेएभ, कार्चोभ, त्रोइत्सकी. (२०६३). सोभियत सङ्घ र महान अक्टोबर क्रान्तिको इतिहास. अनु. राजेन्द्र मास्के. काठमाडौ : जनस्रष्टा प्रकाशन ।

    गब्रिलोव, व. (सन् १९८५). ब्ला. इ. लेनिन की रचना ‘सर्वहारा क्रान्ति और गद्दार काउत्स्की’. अनु. बुद्धिप्रसाद भट्ट. नई दिल्ली : पिपुल्स पब्लिशिंग हाउस (प्रा.) लिमिटेड ।

    बोल्कोभ, प्रोफेसर ग.न. (सन् १९८५). माक्र्सवादी–लेनिनवादी सिद्धांत के मूल तत्त्व. (प्र.सं). अनु. ज.च. पांडेय. नई दिल्ली : पीपुल्स पब्लिशिंग हाउस (प्रा.) लिमिटेड ।

    माक्र्स, एङ्गेल्स, लेनिन. (सन् १९८५). सर्वहारा अधिनायकत्व (लेख–सङ्ग्रह). अनु. प्रगति प्रकाशन मास्को. नई दिल्ली : पिपुल्स पब्लिशिंग हाउस (प्रा.) लिमिटेड ।

    लुस, मिखाइल. (सन् १९८८). लेनिनको कृति ‘“वामपन्थी” साम्यवाद–एक बालरोग’ बारे. अनु. राजेन्द्र मास्के. मास्को : प्रगति प्रकाशन ।

    लेनिन, भी.आई. (सन् १९८३). सङ्कलित रचना, भाग–७. अनु. कृष्णप्रकाश श्रेष्ठ. मास्को : प्रगति प्रकाशन ।

    लेनिन, भी.आई. (सन् १९८६). राष्ट्रिय नीति तथा सर्वहारा अन्तर्राष्ट्रियतावाद के प्रश्न. अनु. त्रिभुवन नाथ. नई दिल्ली : पिपुल्स पब्लिशिंग हाउस (प्रा.) लिमिटेड ।

    लेनिन, भी.आई. (सन् १९८९). राज्य और क्रान्ति. अनु. प्रगति प्रकाशन मास्को. नई दिल्ली : पिपुल्स पब्लिशिंग हाउस (प्रा.) लिमिटेड ।

    लेनिन, भी.आई. (सन् २००२). दूसरे इंटरनेशनल का पतन. लखनउ : राहुल फाउन्डेसन ।

    लेनिन, भी.आई. (२०४८). राज्यसत्ता. अनु. देव रंजितकार. काठमाडौँ : प्रगति प्रकाशन ।

    लेनिन, भी.आई. (२०६९). भौतिकवाद र अनुभवसिद्ध आलोचना. अनु. रमेश सुनुवार र नारायण गिरी. काठमाडौ : सिर्जना बुक पब्लिकेशन गु्रप ।

    सिंह, मोहनविक्रम. (२०५८). रिम र माओवादीहरूको कथित जनयुद्ध. काठमाडौँ : जनशिक्षा गृह ।

    स्टालिन, जे.भी. (२०६४). रणनीति र कार्यनीतिको सवालबारे. अनु. दुर्योधन केसी. काठमाडौँ : विविध पुस्तक भण्डार ।

    शनिबार, चैत १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.