काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
फागुन ९ गते बुधबार काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रम रहेको थियो। सोही विषयको समाचार संकलनका लागि वैदेशिक रोजगार विभाग पुगेका पत्रकारद्वयलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेका महासंघले जनाएको छ।
सो क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त पुर्याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए।
‘स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले भनेको छ, ‘प्रहरीले गरेको यो हर्कतले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ।’
महासंघले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेसविरोधी यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ।