काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गितेन्द्रबहादुर राई (जीबी) र रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान अघि बढाएको छ ।
नेपाल प्रहरीका विभिन्न एकाइले अनुसन्धान अघि बढाइरहेका बेला प्रधानमन्त्री कार्यालयको प्रत्यक्षमातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन थालेको हो ।
सम्पत्ति शुद्धीकरण (मनि लन्डरिङ) सम्बन्धी कसुर जाँचबुझका सिलसिलामा आवश्यक परेकाले रवि लामिछाने र जीबी राई दुवैजनाको नाममा कुनै किसिमको खाता भए नभएको विवरण दिन भन्दै विभागले नेपाल राष्ट्र बैंक तथा सबै बैंकहरूलाई परिपत्र गरेको छ।
विभागले ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबहादुर राई (जीबी) र प्रबन्धन निर्देशक रहेका रवि लामिछानेको खाता विवरण उपलब्ध गराउन बैंकहरूलाई भनेको हो।
विभागले खाता भए कुन प्रयोजनका लागि खोलेको, त्यसको विवरण, खाता खोल्दा पेस गरेका कागजपत्र (केवाईसी) र खातामा रहेको मौज्दात रकमको अवस्था पनि उपलब्ध गराउन बैंकहरूलाई भनेको छ।
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबिआई बैंक,एभरेस्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी(सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकसाथ पत्र लेखेर रविको सम्पत्ति विवरण मागिएको हो।
विभागले दुवैजनाले ती बैंकबाट ऋण लिएको भए त्यसको विवरण र ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पनि मागेको छ।
जीबी राईले देशका प्रमुख सहरमा सहकारी अभियान चलाएका थिए। ती सहकारीको रकम गैरकानुनी रूपमा उनी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लगानी गरेको विभागको आशंका छ।
जीबी राईविरूद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरी ठगी गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। १९ जनाविरूद्ध मुद्दा चलेकामा ५ जना मात्र पक्राउ परेका छन्। राईसहित १४ जना फरार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनमा सेयर लगानीकर्ता तथा प्रबन्ध निर्देशक थिए।