काठमाडौं । नेकपा (एमाले) धादिङको अधिवेशनमा कुटाकुट भएको छ । झडपमा परी एक कार्यकर्ताको हात भाँचिएको छ ।
शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै लफडा भएपछि अधिवेशन स्थगित गरिएको छ।
अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्।
अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।
यता, अधिवेशन स्थगित भन्ने हल्लाको पछि नलाग्न एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अनुरोध गरेका छन्।
‘२०८० माघ १९ गते देखि जारी नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भैरहेकोे अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ। बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउद सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु,’ जिल्ला अध्यक्ष त्रिपाठीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
