गौर । राष्ट्रिय जनमोर्चाको आयोजनामा रौहहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवामा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वामपन्थी नेता हरिकान्त पौडेल र राजमो केन्द्रीय सदस्य धर्मानन्द सुवेदीको विशेष उपस्थितिमा २०८० माघ १६ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समसामयिक राजनीतिक विषयमा वामपन्थी नेता पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा उहाँले देशमा अहिले पनि प्रतिगमनको खतरा गम्भीर रहेको बताउनुभयो ।
‘कोशी प्रदेशमा त तपाईंहामीले देखिसक्यौँ’ नेता पौडेलले भन्नुभयो– ‘त्यहाँ एमाले र राप्रपाले एक सिटमा विजयी भए । यसबाट थाहा हुन्छ, प्रतिगामी शक्तिहरू अहिले पनि एकजुट छन् । त्यसैले प्रतिगामी खतराको विरुद्धमा सहकार्य अहिले पनि आवश्यक छ ।’
उहाँले राष्ट्रिय जनमोर्चाले जहिले पनि ठोस परिस्थितिको ठोस विश्लेषण गरेर राजनीतिक लाइन अगाडि सार्ने गरेको दाबी गर्नुभयो ।
उहाँले थप्नुभयो– ‘अहिले देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको चरणमा हामी छौँ । त्यसैले राजमोले प्रतिगमन विरोधी गठबन्धन कायम गरेको छ ।’
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दीप गोले, राजमो रौतहटका अध्यक्ष हरिकिशोर महतो, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष फूल मोहम्मद, अखिल (छैठौं) का मधेस प्रदेस समितिका उपाध्यक्ष मोहम्मद अतिउल्लाह र प्रदेस सदस्य मिश्रायल मियालगायतको उपस्थिति रहेको थियो ।





