किएभ । रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न सहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् ।
युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।
किएभ सहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ ।
युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँचओटा अन्य सहरमा पनि हवाई आक्रमण गरिएको सहरका मेयर र प्रहरीले बताएका छन् ।
खार्किभ क्षेत्रको प्रहरीले भनेको छ– “शत्रुले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त सहरमा आक्रमण गरेका छन् । खार्किभमा १० ओटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवा तुरुन्तै स्थापित भएका छन् ।”
सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ ।
दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको सहरका मेयरले बताएका छन् ।
“शत्रुको अर्को आक्रमणको परिणामस्वरूप एक अग्लो भवनमा क्षति पुगेको छ” मेयर गेन्नाडी ट्रुखानोभले सामाजिक सञ्जालमा लेख्नुभएको छ– “आक्रमणपछि लागेको आगो तत्काल नियन्त्रणमा लिइएको छ ।”
क्रेमलिनले मङ्गलबार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रले रुसी नौसेनाका लागि ठुलो धक्का भएको बताएका थिए ।
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा आफ्नो वायु सेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसको ठुलो अवतरण जहाजमा भएको क्षतिबारे विस्तृत विवरण दिनुभएको छ ।’
रुसकोे रक्षा मन्त्रालयले उक्त जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्याएको जनाएको छ ।
युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रुसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ । (रासस/एएफपी)