जेनेभा । संयुक्त राष्ट्र सङ्घले हिन्द महासागरको अन्डमान र निकोबार टापुनजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ ।
जहाजमा सवारमध्ये ७० जना बालबालिका र ८८ जना महिला रहेको राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“कम्तीमा एक दर्जनको अवस्था गम्भीर रहेको आशङ्का गरिएको छ र एक जनाको मृत्यु भइसकेको छ” विज्ञप्तिमा भनिएको छ– “समयमै उद्धार गरी नजिकको सुरक्षित स्थानमा ओर्लिन नसके धेरै तटीय राज्यको निगरानीका कारण धेरैको मृत्यु हुन सक्छ ।”
युएनएचसिआरका प्रवक्ता बाबर बलोचले जहाजमा सवार व्यक्तिहरू रोहिङ्ग्या शरणार्थी भएको र एजेन्सीले यस क्षेत्रका सबै तटीय अधिकारीलाई तत्काल उद्धार गर्न अपिल गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यो वास्तवमै एक निराशाजनक अवस्था हो ।’
म्यान्मारमा अत्यधिक उत्पीडनमा परेका हजारौँ मुस्लिम रोहिङ्ग्या हरेक वर्ष म्यानमार र बङ्गलादेशका शरणार्थी शिविरबाट जोखिमपूर्ण समुद्री यात्रा गरी मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।
युएनएचसिआरका अनुसार सन् २०२२ मा दुई हजारभन्दा बढी रोहिङ्ग्याले जोखिमपूर्ण यात्रा गरी विभिन्न मुस्लिम बहुल एसियाली मुलुक पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रमा रोहिङ्ग्या शरणार्थीसहित ५७० भन्दा बढी व्यक्तिको हताहत भएको थियो । (रासस/एएफपी)