वासिङ्टन । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्यसञ्चालित दृष्टिकोण हटाउन आग्रह गर्नुभएको छ । उहाँले उक्त मोडेलले लगानीकर्तालाई हतोत्साहित गर्न सक्ने बताउनुभयो ।
वासिङ्टनमा युएस–चीन बिजनेस काउन्सिलको पचासौँ वार्षिकोत्सवको रात्रिभोजमा उहाँले भन्नुभयो– ‘सरकारी स्वामित्वका उद्यमका लागि अत्यन्त मजबुत भूमिकाले वृद्धिलाई रोक्न सक्छ र सुरक्षा संयन्त्रका लागि अत्यधिक भूमिकाले लगानीलाई निरुत्साहित गर्न सक्छ ।’
बौद्धिक सम्पत्तिका लागि सीमित सुरक्षा र घरेलु प्रतिस्पर्धीलाई प्राथमिकता दिइएको भन्दै अमेरिकी कम्पनीले चीनमा अनुचित व्यापारिक वातावरण रहेको लामो समयदेखि गुनासो गर्दै आएका छन् । यस वर्ष चीनमा काम गरिरहेका परामर्श फर्ममाथिको कारबाही र जासुसी विरोधी कानुनमा परिवर्तनले बेइजिङलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको ठानेर कारबाही गर्न पहिलाभन्दा पनि धेरै शक्ति दिने डर बढेको छ ।
हालै युएस–चीन बिजनेस काउन्सिल सदस्य सर्वेक्षणलाई उद्धृत गर्दै वित्तमन्त्री येलेनले कम्पनीले लगानी योजनामा पुनर्विचार गरिरहेकाले यो बेइजिङका लागि चासोको विषय हुनुपर्ने बताउनुभयो ।
सन् २०१६ पछि कुनै पनि वर्षको तुलनामा सन् २०२३ को सर्वेक्षणमा कम्पनीले ठुलो अनुपातमा केही परिचालनलाई चीनबाट बाहिर सार्ने योजनाको सङ्केत दिएका छन् । येलेनले कम्पनीको योजनाले चीनमा संरचनात्मक सुधारलाई अगाडि बढाउने सम्भावित लाभतर्फ सङ्केत गरेको बताउनुभयो ।
‘धेरै लामो समयदेखि अमेरिकी कर्मचारी र कम्पनीहरू चीनसँग समानस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छैनन्’ चीनलाई उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘चीनले गैरबजार उपकरणदेखि लिएर विदेशी कम्पनीको पहुँचमा अवरोध र अमेरिकी कम्पनी विरुद्ध जबरजस्ती कारबाहीसम्म अनुचित आर्थिक प्रचलनलाई प्रयोग गर्दछ ।”(रासस/एएफपी)