काठमाडौँ । शनिबारसम्म नेपालको मौसम सामान्यत: सफा रहने भएको छ ।
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार र शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।
मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बादल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहने छ ।’
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तापक्रम घट्दै, चिसो बढ्दै
पछिल्ला दिनमा क्रमिक रूपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ ।
‘तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’ मौसमविद् अधिकारीले भन्नुभयो ।
तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।