काठमाडौँ । बझाङ जिल्लाको मस्टा गाउँपालिका–४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।
सोही गाउँपालिका–४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
उनको खोजीकार्यका लागि मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामग्रीसहित खटाइएको सशस्त्रले जनाएको छ ।
यसअघि, सोमबार रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५ रोङ्गास्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका सोही गाउँपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङ्गको खोजीकार्य पनि जारी छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० बिपत् उद्धार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा नौ जना गोताखोरसहितको सुरक्षाफौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको थियो ।