बेइजिङ । इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुग्नुभएको छ ।
चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ ।
युक्रेनमाथि रुसको आक्रमणपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।
क्रेमलिनका अनुसार बिआरआई फोरमका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्नुहुने छ । इजराइल र प्यालेस्टिनी लडाकु समूह हमासबिचको युद्ध सुरु भएपछि बिआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ ।
“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दालाई विशेष ध्यान दिइने छ” क्रेमलिनले विज्ञप्तिमा भनेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सीले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बिआरआई फोरमको सुरुआत गर्नुभएको थियो ।
शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञले सोमबार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए । मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’ का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिनुभएको थियो ।
पुटिनले चीनपछि उत्तर कोरियाको भ्रमण गर्नुहुने जनाइएको छ ।
आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सीले यसै हप्ता भेट हुँदा दुई मुलुकबिच सम्पूर्ण रूपमा छलफल गर्ने बताउनुभयो । जवाफमा वाङले बिआरआईमा रुसको समर्थनप्रति आभार प्रकट गर्नुभयो । (रासस/एएफपी)