काठमाडौँ । नेकपा (मसाल) ले धरान घटनाको सन्दर्भमा धर्म निरपेक्षताको रक्षा गर्न आग्रह गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ९ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो आग्रह गरेको हो ।
पार्टीले वक्तव्यमा देश धर्मनिरपेक्ष भएकाले सबै नागरिकको धार्मिक स्वतन्त्रताको सम्मान हुनुपर्ने बताएको छ ।
धरानको समस्या तत्काल समाधान गर्न आग्रह गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“धरानमा धार्मिक साम्प्रदायिकता बढेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।
धार्मिक भड्कावबाट देशको राष्ट्रिय एकतामा गम्भीर आँच आउनुको साथै त्यसले सामाजिक सद्भाव पनि सङ्कटमा पर्न जाने कुरा निश्चित छ । नेपाल धर्मनिरपेक्षतामाथि आधारित देश भएकाले सबै नागरिकको धार्मिक स्वतन्त्रता र सम्मान हुनुपर्दछ । नेपाली जनताबिच सामाजिक सद्भाव कायम हुन सकेमा नै देशमा शान्ति र सामाजिक सद्भाव कायम रहन सक्ने छ । त्यसैले अहिले धरानमा उत्पन्न समस्या समाधान गर्नका लागि तथा धर्मनिरपेक्षताको रक्षाका लागि हामीले सरकार र सम्बन्धित पक्षको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”