भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ : ‘सहज भेट्न पाइँदैन’ । जब उहाँ कार्यालय पुग्नुहुन्छ, बाहिर नगरवासीको भिड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मे हम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।
धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ । यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोल टोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उहाँको हिँडाइसँगै भेटघाट सुरु हुन्छ । टोलटोलमा उहाँ बिहानी हिँडाइ (मर्निङवाक) गर्नुहुन्छ । स्थानीयसँग भेट गर्नुहुन्छ । गुनासा एवम् सुझाव सुन्नहुन्छ र चालु आयोजनाको अनुगमन गर्नुहुन्छ । कतिपय स्थानीय उहाँसँगै हिड्ने गर्नुहुन्छ । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ ।
प्रमुखसँग आफ्नै टोलछिमेकमा तस्बिर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उहाँ पुगिसक्नुभएको छ । क्रमश: सबै वडामा पुग्ने उहाँको योजना छ ।
नियमित बिहानीको हिँडाइसँगै रहनुहुने दाहालका छिमेकी टीकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ । (रासस)