काठमाडौं । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो।
थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले लिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ पूरा गरेको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले २७ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनायो ।
थाइल्यान्डका लागि हिनोन जोर्डानले सर्वाधिक १३ रन बनाए । त्यस्तै नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान एक–एक विकेट लिए ।
नेपालले थाइल्यान्डमाथि कीर्तिमानी जित निकालेको हो । नेपालले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विपक्षि टोलीले दिएको योगफल कमै ओभरमा पूरा गरेको पहिलो पटक हो ।
थाइल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित भएको थियो । नेपालले एसिया कप छनोटमा स्थान बनाउन हङकङ र सिंगापुरको खेलको नतिजा कुर्नुपर्नेछ ।