काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । २०८० असार २७ गते
बुधबार बिहान ८:३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि दिउसो १ बजेसम्म माओवादी–केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ ।
त्यसपछि दिउसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नर्भिक अस्पतालले सीता दाहालको निधनको कारण कार्डियक अरेस्ट भनेको छ । ६९ वर्षीया दाहाललाई बुधबार बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पी.एस.पी. रोगबाट ग्रस्त हुनुहुन्थ्यो । चिकित्सकका अनुसार यसले मानिसको स्नायुप्रणालीमा असर गर्छ । रोगका कारण उहाँ हिँडडुल गर्नसमेत असमर्थ हुनुहुन्थ्यो ।