काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने बताएको छ ।
२०८० असार ७ गते बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको पनि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताउनुभयो ।
नेता पाण्डेले सत्ता गठबन्धनका सबै नेतासँग पनि बजेटबारे छलफल गर्न बैठकले माधव नेपाललाई सुझाव दिएको बताउनुभयो ।
उहाँले असन्तुलित भएको ठाउँमा सन्तुलित गरे मात्रै बजेट पारित गर्न सकिने बताउनुभयो ।
पाण्डेले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनुभयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।
अर्कोतर्फ, उहाँले बजेटकै कारण सत्ता समीकरण भने नटुट्ने बताउनुभयो तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उहाँको भनाइ छ ।
पाण्डेले भन्नुभयो– ‘हामी बजेट बनाउन भोट हाल्नेले १३८ भन्दा बढी भोट हाल्छौँ । यो कुरा सुधार भएपछि भोट हाल्छौँ भनेपछि सरकार ढल्छ भन्ने कुरा पनि भएन तर यथास्थितिमा अहिले जस्ता छ, त्यस्तै हुन सक्दैन ।’
सेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेको भन्दै उहाँले बजेट संशोधन गर्न नसक्ने भन्नु गलत भएको पनि बताउनुभयो ।