काठमाडौं । बर्दिबासदेखि पैदलयात्रा गरेर ११ औँ दिनमा काठमाडौं आइपुगेका मिटरब्याजपीडित अब समस्या समाधान नभएसम्म नफर्कने बताएका छन् ।
८५ जना पीडित ११ औं दिनमा आइतबार मातातीर्थको कुण्डनजिकै रहेको पौवामा बसेर काठमाडौं छिरेका हुन्। पीडितहरुले आज (सोमबार) काठमाडौंमा पैदल मार्च गर्ने जनाएका छन् ।
मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले अब मौखिक आश्वासनका भरमा आफूहरु नफर्कने बताए । उनले आफूहरु सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने पक्षमा रहेको बताएका छन् ।
पासवानले भने, ‘यो समस्या आजको होइन । हामीले सुदखोरविरुद्ध एक वर्षदेखि जिल्लाजिल्ला गाउँगाउँमा अभियान चलायौं । ६ महिनाअघि भएको पाँच बुँदे सम्झौता अझै लागू भएको छैन । हामी अब सीधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्छौं ।’
उनले स्थानीय जनप्रतिनिधिसमेत सुदखोर रहेको आरोप लगाए । अब कुनै पनि मौखिक सहमति नमान्ने पासवानले बताए ।
उनले भने, ‘हाम्रो घरजग्गा फिर्ता हुनुपर्यो । मिटरब्याजीको तमसुक रद्द हुनुपर्यो । अब हामीलाई मुखले भनेर मात्र हुँदैन । स्थानीय जनप्रतिनिधिबाट काम हुँदैन भनेर हामीले त्यतिबेलै भनेका थियौं । पालिकाको मेयर नै सुदखोर छ, अनि पीडितलाई कसरी न्याय दिन्छ ?’
संयोजक पासवानले अदालतले मिटरब्याजीको कागजलाई प्रमाण ठानेर फैसला गरेको आरोप पनि लगाए । समस्या समाधान नभएसम्म काठमाडौंमै बस्ने उनको भनाई छ ।