काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ । भोलि बिहीवार हुने राष्ट्रपतिको निर्वाचनमा राप्रपाले मतदान नगर्ने एक नेताले जानकारी दिए ।
त्यसबारे निर्णय लिन आज राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकबाट कसैको पक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय हुनसक्ने ती नेताले जानकारी दिए ।
बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
राप्रपाले हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुनर्स्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेन्डा बोकेको छ । निर्वाचनमा सहभागिता जनाउँदा आफ्ना एजेन्डामा सम्झौता गर्नुपर्ने र त्यसले जनतामा नकारात्मक प्रभाव पर्ने स्रोतको दाबी छ ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेललाई नौ दलको समर्थन छ भने नेम्वाङलाई एमालेको मात्रै समर्थन रहेको छ ।