बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाब्यापी संघीयताविरुद्धको अभियान सुरु गरेको छ ।
राजमो केन्द्रीय कार्यक्रम अन्तर्गत ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ र संघीयताको खारेज गरौँ’ भन्ने मूल नारासहित अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत बिहीबार आयोजित राजमो ढोरपाटन नगरपालिका वडा नं २ को दोस्रो वडा सम्मेलनको उद्घाटन राजमोका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले गर्नुभयो । त्यसक्रममा उहाँले जिल्लाब्यापी रुपमा विभिन्न पालिकामा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले संगठनका गतिविधिहरुलाई निरन्तरता दिनको लागि पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
साम्राज्यवादी मुलुकहरुको चलखेलमा सरकार सञ्चालन लगायतका गलत प्रवृतीहरु भैरहेको र त्यसको अन्त्य गर्नुपर्ने उहाँको भनाई थियो । विभिन्न राजनैतिक दल र सरकारको गलत भूमिकाका कारण देश फिजिकरणको दिशामा गइरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव कुल बहादुर छन्त्यालले आगामी फागनु ७ र ८ गते बुर्तिबाङ बजारमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला सम्मेलन हुन लागेको जानकारी दिँदै कार्यक्रम सफल पार्न आग्रह गर्नुभयो । त्यसअघि माघ २१ गते नगर सम्मेलन हुने समेत जानकारी दिनुभयो ।
सम्मेलनमा अखिल नेपाल युवक संघका ढोनपा–२ का अध्यक्ष राम बहादुर थापा, अखिल नेपाल महिला संघकका मन कुमारी विक, राजमोका भेक बहादुर घर्ती लगायतले बोल्नुभएको थियो ।
सम्मेलनले तम बहादुर घर्तीको अधयक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ओम बहादुर पाण्डे, कोषाध्यक्ष मन कुमारी विक, सचिवमा लालबहादुर कुवँर र सहसचिवमा सावित्रा दर्जी चयन हुनुभएको छ ।
सदस्यहरुमा भक बहादुर खत्री, थम बहादुर खड्का, रुक्मांगत चालिसे, जमुना जैसी, दलबहादुर बुढा, राम बहादुर थापा, चन्द्रकला विक रहनुभएको छ भने एक स्थान हाललाई रिक्त रिक्त राखिएको छ ।
राजमो ढोरपाटन–२ का अध्यक्ष तम बहादुर घर्तीको अध्यक्षता, तुल्सीराम खनालको स्वागत र वडासचिव लालबहादुर कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।