काठमाडौँ । आज सर्वहारा वर्गका महान् नेता माओत्सेतुङको एक सय तिसौँ जन्मजयन्ती परेको छ । डिसेम्बर २६, १८९३ मा चीनको साओसानमा जन्मनुभएका माओको आज २०७९ पुस ११ गते सोमबार (डिसेम्बर २६) जन्मजयन्ती परेको हो ।
नेकपा (मसाल) केन्द्रीय कार्यालयले आज सो अवसरमा औपचारिक कार्यक्रम गर्ने भएको छ ।
पार्टीप्रवक्ता रामप्रकाश पुरीका अनुसार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपनमा दिउसो १ बजे सो कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस्तै, मसालनिकट अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले पनि आजै साँझ ७ बजे माओजयन्तीको अवसरमा भर्चुअल कार्यक्रम आयोजना गरेको छ ।
अन्पाका महासचिव प्रकाश थापामगरका अनुसार “साहित्यमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति” विषयक सो कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतम र प्रगतिवादी बुद्धिजीवी डी.आर. पोखरेलले प्रमुख वक्ता हुनुहुन्छ ।
एवम् प्रकारले नेकपा (मसाल) निकट जनवर्गीय सङ्गठनको आयोजनामा देश तथा प्रवासमा समेत भव्य कार्यक्रममा साथ माओजयन्ती मनाइने योजना रहेको प्रवक्ता पुरीले जानकारी दिनुभयो ।
माओत्सेतुङ विश्वप्रसिद्ध कम्युनिस्ट नेता हुनुहुन्छ । उहाँको दर्शन, विचार र सिद्धान्त समेटिएको ‘माओ विचारधारा’ लाई विश्वभरिका कम्युनिस्ट पार्टीहरूलाई पथप्रदर्शक मान्दै आएका छन् । नेकपा (मसाल) ले पनि ‘माओ विचारधारा’ मान्दै आएको छ ।