टेकराज भुसाल (टेकु), बुटवल ।
बुटवलमा रहेको देशकै नमुना सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा उपाधि जित्ने आफ्ना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रम गरि सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा कालिका मानवज्ञानले १० स्वर्ण, ७ कास्य र ७ रजत गरि जम्मा २४ पदक जित्न सफल भएको थियो । प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी र प्राचार्य घनश्याम पाठकले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष गलामीले कालिका मानवज्ञान माबिका विद्यार्थी कितावी ज्ञानका साथसाथै अन्य क्रियाकलापहरुमा पनि अगाडि रहेको बताउँदै अभिभावकहरुको मन जित्न सफल विद्यालयको सफलताका लागि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको मेहनत राम्रो रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै प्राचार्य घनश्याम पाठकले विद्यालयको शैक्षिक गतिविधीका साथसाथै खेलकुद लगायत अन्य क्रियाकलापमा पनि थप उत्कृष्ट बनाउँदै लैजाने बताए । कार्यक्रम विद्यालयका शिक्षक राजु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।