काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य थम्मन बुढामगरको निधन भएको छ । लामो समयदेखि ढाडका बिरामी रहनुभएका बुढाको मंलबार बिहान ८ः१५ बजे आफ्नै निवास प्युठान स्वर्गद्वारी–४ गोठिबाङमा निधन भएको हो ।
बुढाको मंलबार नै गोठिबाङस्थित बैरेनीघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिक शरीरमाथि राष्ट्रिय जनमोर्चा राप्ती–लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
सोही समयमा आयोजित श्रद्धाञ्जली सभामा राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो प्रदेश सदस्य तथा प्युठान जिल्ला उपाध्यक्ष इमानसिंह खड्का, राजमो जिल्ला सहसचिव लालबहादुर राउतलगायतका नेता–कार्यकर्ता तथा परिवार जनका सदस्यको उपस्थिति रहेको थियो ।
नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेका अनुसार उहाँ नेकपा (मसाल) प्युठानको जिल्ला सल्लाहकार हुनुहुन्थ्यो । साथै उहाँ राजमो प्युठानको पनि सल्लाहकार हुनुहुन्थ्यो ।
पार्टीभित्र टेकनाम क. झलनाथ रहेको बुढाले २०२५ सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभएको प्रवक्ता न्यौपानेले बताउनुभयो । बुढाको परिवारमा श्रीमतीसहित चार छोरी र दुई छोरा रहेका छन् ।