जेनेभा । संयुक्त राष्ट्र सङ्घले भूमध्यसागर पार गर्ने क्रममा विभिन्न देशबाट आप्रवासीका रूपमा युरोप प्रवेश गर्नेका लागि सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युरोपेली युनियनलाई सो आग्रह गर्नुभएको हो ।
युरोपेली युनियनलाई उहाँले युरोप जानका लागि भूमध्य सागर पार गर्ने क्रममा आप्रवासी तथा युरोप छिर्ने मध्यपूर्वी तथा अन्य देशका आप्रवासीलाई सुरक्षित मापदण्ड अपनाउन र आप्रवासीहरू प्रवेश गर्ने मार्गमा सुरक्षा प्रबन्ध गर्न आग्रह गर्नुभएको छ ।
युरोपेली युनियनको न्याय परिषद्को बैठकमा युरोपेली देशका गृहमन्त्रीहरूसँगको भेटघाटको पूर्वसन्ध्यामा संयुक्त राष्ट्र सङ्घका शरणार्थी तथा आप्रवासनसम्बन्धी प्रमुखले यो आग्रह गर्नुभएको समाचारमा उल्लेख छ ।
उहाँले भूमध्यसागर पार गर्ने क्रममा तथा यही मार्गमार्फत युरोप प्रवेश गर्ने क्रममा तथा युरोप भएर आप्रवासीहरू जाने क्रममा यस वर्ष मात्र कम्तीमा पनि दुई हजार जना विभिन्न देशका आप्रवासी तथा शरणार्थीको मृत्यु भएको या हराएका पनि जानकारी दिनुभएको छ ।
युरोप प्रवेश गर्ने एवमु युरोप भएर जाने आप्रवासीका साथै शरणार्थीको बाटो असुरक्षित हुन पुगेको उहाँको भनाइ थियो । उहाँले युरोपका सबै देशलाई यस्तो सुरक्षित मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ । (रासस/सिन्हवा)