जुबा । दक्षिण सुडानमा जारी हिंसाप्रति संयुक्त राष्ट्र सङ्घले चासो व्यक्त गरेको छ । राष्ट्र सङ्घले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो ।
अपर नाइलको फासोदा जिल्लामा यहाँका सिलक सशस्त्र समूह र नुइर विद्रोही समूहका बिचमा केही दिनयता देखि हिंसा सुरु भएको छ ।
राष्ट्र सङ्घले सो हिंसाका कारण यस क्षेत्र वरपरका नगरमा पनि असर गरेकाले त्यहाँका नागरिक घर छोडेर भाग्ने क्रम बढ्दै गएको बताएको छ । सो हिंसा रोक्न सबै पक्षका आवश्यक सहयोग र समन्वयको अपेक्षा पनि सङ्घले गरेको छ ।
गत अगस्ट महिनामा यहाँका स्थानीय कैयौँ हिंसात्मक समूहका कारण ठुलो सङ्ख्यामा मानिसहरू पनि विस्थापित हुन पुगेका भन्दै यसबाट यहाँका नागरिकमा त्रास बढेको बताइएको छ ।
सो हिंसामा परेर यहाँका सयौँ मानिस मारिएका छन् भने हजारौँ जना विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरूको बसोबासको अवस्था नरहेको र उनीहरू देशभित्रै शरणार्थी बनिरहेकाले हिंसा रोक्नेतर्फ राष्ट्र सङ्घले आग्रह गरेको छ ।
दक्षिण सुडानी सुरक्षा निकायहरूले यहाँको हिंसा रोक्ने प्रयत्न गरेका भए पनि धेरै युवाको संलग्नता विद्रोही समूहमा रहेका र उनीहरूले निकै क्रुर हिंसामा संलग्न हुदै गएकाले समस्या उत्पन्न भएको राष्ट्र सङ्घले जनाएको छ ।
दक्षिणी सुडानमा रहेको राष्ट्र सङ्घीय मिसनले यहाँको हिंसाको अन्त्यका लागि सबैसँग आग्रह गरेको हो । ती विद्रोही समूहलाई हिंसात्मक आक्रमणको काम तत्कालै रोकेर शान्तिपूर्ण वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्न आग्रह गरेको हो । (रासस/सिन्ह्वा)